Nepal Times
Nepal Times
3
Shares

चौरसिया हत्या: सरकारी वकिल कार्यालयमार्फत १२ जनाविरुद्ध जाहेरी दर्ता

चौरसिया हत्या: सरकारी वकिल कार्यालयमार्फत १२ जनाविरुद्ध जाहेरी दर्ता

१३ कात्तिक, वीरगन्ज ।

मुकेश चौरसिया हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले लिन नमानेपछि पीडित पक्षले सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष बिहीबार निवेदनसहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो । सरकारी वकिल कार्यालयका प्रमुख रुद्रप्रसाद पन्थीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताए ।

गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेका थिएन ।

चौरसियाको शव नारायणी अस्पतालमा राखिएको थियो । मुद्दा दर्ता भएपछि शुक्रबार शवको पोस्टमार्टम गरी दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

पन्थीले भने,- ‘मुद्दा दर्ता र अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो । निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी त्यही पठाएको हौं ।’

सरकारी वकिल कार्यालयबाट पत्र आएपछि प्रहरीले कर्तव्य ज्यानको पुरानै जाहेरी दर्ता गरेको मृतकका भाइ महेश चौरसियाले बताए ।

शुक्रबार मुकेशको मृत्यु भएपछि मृतकका भाइ महेश चौरसियाले दाइको हत्याको मुख्य योजनाकारमा सभासद तथा नेकपा नेता राजकुमार गुप्तासहित १२ जनाको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेको थिएन । गुप्ताको नाम हटाई जाहेरी ल्याएमात्र दर्ता गर्ने प्रहरीले अडान राखेको थियो ।

जाहेरी दर्ता गराउन नेकपाका जिल्ला इन्चार्ज, सचिव लगायतका नेता जिल्ला प्रहरी कार्यालय अगाडि विगत ७ दिनदेखि धर्ना दिइरहेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.