८ भदौ, जनकपुर । जनकपुर-जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १३ सय यात्रु बोक्ने क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो ।
विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ।
तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताए।
यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ। मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो।
विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो। दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटना आइसकेको मिश्रले बताए।
यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ । रेलले १२ सयदेखि १३ सय जना यात्रु क्षमता राख्दछ । रेलको दुबैतिर इन्जिन रहेकाले चलाउन सजिलो रहेको मिश्रले बताए।