Nepal Times
Nepal Times
3
Shares

जाडो छल्न मुस्ताङी बेंसी नझर्ने

जाडो छल्न मुस्ताङी बेंसी नझर्ने

म्याग्दी : हिउँदका चार महिना जाडो छल्न बेंसी झर्ने चलनलाई यस वर्ष मुस्ताङीले निरन्तरता नदिने भएका छन् । विगतका वर्षमा उपल्लो मुस्ताङबाट कात्तिक लागेपछि पोखरा झर्ने गरेका उनीहरू कोरोना महामारीका कारण उतै बस्ने भएका हुन् ।

गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रिन जोन’ मा रहेको एक मात्रै जिल्ला हो । यहाँ हालसम्म दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना निको भइसकेका छन् । कास्की प्रदेशभरिकै उच्च जोखिम रहेको जिल्ला हो । बालबालिकालाई पढाउन पोखरामा सञ्चालन गरिँदै आएको हिउँदे विद्यालय पनि यस वर्ष नचल्ने भएको छ । लोमान्थाङ गाउँपालिका–५ धेकाका कर्मा छिरिङ लोवा यो वर्ष जाडो खपेरै भए पनि घरमै बस्ने बताउँछन् । ‘तल कोरोनाको महामारी छ, बरु यहीं सुरक्षित छौं,’ उनले भने ।

उनका अनुसार अघिल्लो वर्ष बेंसी झर्दा फर्कने बेला बेमौसमी हिमपात भएपछि चैतसम्म पोखरामै रोकिनुपरेको थियो । त्यतिबेलै लकडाउनले थप तीन महिना थुनिए । भन्छन्, ‘अब सहज नहुँदासम्म बेंसी झर्दैनौं ।’

हिउँदमा हिमपात हुँदा अति चिसोबाट वृद्धवृद्धा, बालबालिका बढी प्रभावित हुन्छन् । लोमान्थाङ र लो घ्याकर दामोदरकुण्ड गाउँपालिकाले हिमपात नहुँदै घरघरमा हिटर बाल्न मिल्ने गरी केन्द्रीय बिजुली जोड्ने तयारी गरेको छ ।

उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा धपाउँदै बालबच्चासहित हिउँदमा बेंसीका म्याग्दी, पर्वत, कास्की, तनहुँसमेतका बस्तीमा पुगेर घुम्ती व्यापार गर्थे । मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कन्थे । अहिले भने माथिसम्मै मोटरबाटो पुगेको छ । खाद्यान्नको समस्या नहुने भएको छ ।

लो घ्याकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले यो वर्ष कोही नझर्ने र घुम्ती विद्यालय पनि सञ्चालन नहुने बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.