Nepal Times
Nepal Times
3
Shares

झिलिंगा व्यवसायबाट मनग्य आम्दानी

झिलिंगा व्यवसायबाट मनग्य आम्दानी

११ कात्तिक, तनहुँ ।

झिलिंगा बेचेर यहाँका एक दम्पतीले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विगत लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी श्रेष्ठ र विष्णुकुमार श्रेष्ठले झिलिंगा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हुन् । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक एक हजार बचत हुने गरेको तारादेवी श्रेष्ठले बताइन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि ती दम्पतीले झिलिंगा व्यवसाय सुरु गरेका हुन् । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छोडेर झिलिंगा व्यवसाय सुरु गरेको उनले बताइन् ।

‘माइजु केशीमाया श्रेष्ठबाट झिलिंगा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय सुरु गरेको छु’, तारादेवीले भनिन्, ‘दैनिक तीन हजार बढीको झिलिंगा बिक्री हुँदा एक हजार मुनाफा हुने गरेको छ ।’ उनका अनुसार बिक्रीको कुनै समस्या छैन । झिलिंगा घरबाटै ग्राहकले लैजाने गरेका छन् । चाडपर्वको समय भएकाले हाल झिलिंगाकाे माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ ।

होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नु भन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि झिलिंगा बनाएर बेच्न थालेको बताउँदै तारादेवीका श्रीमान् विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताए । आफूले घरमा घरयासी प्रविधिबाट झिलिंगा बनाउने र त्यो स्थानीय बजारमा नै खपत भएको उनको भनाइ छ । काम गर्न सके जे गरेपनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौतारिएर हिँड्नु पर्ने अवस्था नरहेको उनले बताए ।

दसैं–तिहारजस्ता चाडपर्वमा झिलिंगाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाको रुपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ ।

रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.