Nepal Times
Nepal Times
3
Shares

टि२० विश्वकप: अष्ट्रेलियाको विजयी सुरुवात

टि२० विश्वकप: अष्ट्रेलियाको विजयी सुरुवात

६ कात्तिक, एजेन्सी ।

अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । शनिबार भएकाे टि२० विश्वकपको सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेकाे हाे ।

शेख जायद स्टेडियम आबूधाबीमा जितका लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मध्यक्रमका ब्याटर स्टिभ स्मिथले ३४ बलमा ३ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिए । म्याथ्यु वेड १० बलमा २ चौका सहित १५ रनमा अविजित रहे । मार्कस स्टोइनिस १६ बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । २१ बल खेलेका ग्लेन म्याक्सवेल १ चौका सहित १८ रनमा बोल्ड आउट भए ।

तीव्र गतिका बलर एनरिच नोर्कियाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा कगिसो रबाडाबाट क्याच गराउँदै दक्षिण अफ्रिकालाई पहिलो सफलता दिलाएका थिए । पाँचौं ओभरको तेस्रो बलमा रबाडाले अर्का ओपनर डेविड वार्नरलाई १४ रनमा हेनरिक क्लासेनबाट क्याच गराए । वार्नरले १५ बलमा ३ चौका प्रहार गरे ।

केशव महाराजले मिचेल मार्शलाई रास्सी भान डर डुसेनबाट ११ रनमा क्याच गराएपछि दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई सामान्य लक्ष्यमा पनि दबाब राखेको थियो । चौथो विकेटका लागि ग्लेन म्याक्सवेल र स्टिभ स्मिथले ४२ बलमा ४२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । स्मिथलाई १५ औं ओभरको पाँचौं बलमा नोर्कियाले एडेन माक्ररमबाट क्याच गराउँदै दक्षिण अफ्रिकालाई महत्वपूर्ण सफलता दिलाए । लगत्तै अर्को ओभरको दोस्रो बलमा स्पिनर तबरेज शाम्सीले म्याक्सवेललाई बोल्ड आउट गरेपछि अष्ट्रेलिया केहि दबाबमा परेको थियो ।

तर विकेटकिपर म्याथ्यु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक २ विकेट लिए । कगिसो रबाडा, तबरेज शाम्सी, केशव महाराजले १-१ विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले ३६ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कागिसो रबाडा २३ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे ।

दोस्रो ओभरको तेस्रो बलमा स्पिन अलराउन्डर ग्लेन म्याक्सवेलले कप्तान टेम्बा बभुमालाई १२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडले आफ्नो स्पेलकै पहिलो बलमा प्रमुख ब्याटर रास्सी भान डर डुसेनलाई २ रनमा म्याथ्यु वेडबाट क्याच गराएपछि दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।

हेजलवुडले पाँचौं ओभरको पहिलो बलमा ओपनर क्विन्टन डी ककलाई ७ रनमा बोल्ड आउट गर्दा दक्षिण अफ्रिका २३–३ को कमजोर अवस्थामा पुगेको थियो । अर्का तीव्र गतिका बलर प्याट कमिन्सले आठौं ओभरको अन्तिम बलमा हेनरिक क्लासेनलाई १३ रनमा स्टिभ स्मिथबाट १३ रनमा क्याच गराए । उनले १३ बलमा २ चौका प्रहार गरे ।

१४ औं ओभरमा स्पिनर एडम जम्पाले दुई विकेट लिएपछि दक्षिण अफ्रिका संकटमा परेको थियो । तेस्रो बलमा आक्रमक ब्याटर तथा फिनिसर डेविड मिलरलाई १६ रनमा एलबीडब्लू आउट गरे । ड्वेन प्रिट्रिययस १, केशव महाराज शून्य र एनरिच नोर्किया रन २ रनमा आउट भए ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले २, प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

दक्षिण अफ्रिकाले दोस्रो खेल मंगलबार वेस्टइन्डिजसँग दुबईमा प्रतिस्पर्धा गर्नेछ भने अष्ट्रेलियाले बिहीबार श्रीलंकासँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.