एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचारप्रसार गरेको कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा हात झिकेपछि ट्रम्पलाई झड्का लागेको छ ।
निर्वाचनमा धाँधली भएको आरोपसहित अदालत पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा वकालत गर्न कानुन व्यवासायी फर्मले हात झिकेको हो । ट्रम्पले चुनाव हारेपछि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा ट्रम्पको मुद्दाबाट आफूलाई अलग गरेको हो । संघीय अदालतले ९ हजार ३ सय मेल इन भोटमा रोक लगाउन अस्वीकार गरेपछि यो कानुनी लडाइँ शुरु भएको थियो ।
यी मतपत्र गणना नगर्ने ट्रम्पको माग अस्वीकार गर्दै आएका थिए । न्यायाधीशले मतदानको दिनभन्दा पहिल्यै गएका मतपत्र मतदानको दिनभन्दा तीन दिन पछि आए पनि मान्य हुने फैसला सुनाएका थिए । न्यूयोर्क टाइम्सका अनुसार पोर्टर राइट मोरिस एण्ड आर्थर फिलाडेल्फिया र अन्य काउन्टीमा ट्रम्पले मतपरिणामलाई चुनौती दिँदै हालेको मुद्दाबाट अलग भएको हो । कानुन व्यवसायीहरुले नैतिक दुविधाको सामना गरिरहेको समाचारमा जनाइएको छ ।