१ माघ, वाशिङ्टन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासमै दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।
गत साता अमेरिकी संसद् भवनमा भएको हूलदङ्गालाई प्रोत्साहित गरेको अभियोगमा उनी विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।
संसदमा महाअभियोग सम्बन्धी प्रस्तावमा भएको मतदानमा महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ भने विपक्षमा १ सय ९७ मत परेको छ । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ ।
तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सांसदहरु छन् । तर ट्रम्पले प्रतिनिधित्व गर्ने दल रिपब्लिकन पार्टीका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् ।
महाअभियोग प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसका लागि दुई तिहाइ बहुमत आवश्यक हुन्छ । यस अघि सन् २०२० मा पनि राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा दुई तिहाई बहुमत पुर्याउन नसक्दा ट्रम्प आरोप मुक्त भएका थिए ।