Nepal Times
Nepal Times
3
Shares

डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’

डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’

२४ असार, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई स्वीकार गरेको छ ।

यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै मापदण्ड परिवर्तन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।

यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन । हामी यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३–३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।
वान केरखोवले यसबारे डब्ल्यूएचओले छिट्टै जानकारी दिने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.