Nepal Times
Nepal Times
3
Shares

डिडिसीको ६० हजार लिटर घिउ निर्यात

डिडिसीको ६० हजार लिटर घिउ निर्यात

८ साउन, वाग्मती। 

नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घिउ यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घिउ निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घिउ निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि आठ हजार लिटर घिउ निर्यात हुने गरेको छ ।

घिउको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ । त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्पmत आव २०७७/७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी रु. ३२ करोड भुक्तानी गरेको जनाएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौँडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ ।

उक्त आयोजनाअन्तर्गत सातवटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, वसवरिया र स्रिम्रोेनगढमा छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।

औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर छ । आयोजनाबाट दही, पनिर, घिउ, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई बिक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ । आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन तीन हजार लिटर तथा घिउ, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन छ ।

त्यस्तै फ्रेसमिल्क एक हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्र्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्याङ्कमा जनाइएको छ । एक सय १७ कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १९७ बिक्री बुथ छन् । हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । बाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो ।रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.