Nepal Times
Nepal Times
3
Shares

तीन बालिकाको संरक्षकत्व ग्रहण

तीन बालिकाको संरक्षकत्व ग्रहण

२६ साउन, काठमाडौँ ।
प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व लिएकी छिन् । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा शाक्यले अभिभावकविहीन तीन जना बालिकाको संरक्षकत्व लिएकी हुन् ।

घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गरेकी थिइन् । बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षण गृहमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाइएको छ ।

सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताए । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दैै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताए ।

प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको स्पष्ट पारे । उनले भने–“घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य गरिने छ ।”

बालबालिकालाई राज्य, समाज र परिवारले उचित अवसर दिएमा देशको भविष्य चम्काउने विश्वास समेत उनले व्यक्त गरे । समाज र राष्ट्रका लागि राम्रो काम गर्दा खुट्टा तान्ने, असहयोग गर्ने, बाधा हाल्ने काम हुन्छ तर त्यसबाट हतोत्साही नभई सेवाका कार्यमा निरन्तर लाग्नुपर्ने बताउँदै उनले भने “समाजसेवाबाट सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले यो त्यति सजिलो पनि छैन । धेरै बिध्नबाधा खेप्नुपर्छ ।”

सोही अवसरमा शाक्यले गोरखापत्र दैनिकमा आइतबार प्रकाशित ‘अभिभावक नहुँदा बिचल्ली’ समाचारप्रति आफ्नो गम्भीर ध्यान गएको बताइन् । सो समाचार पढेपछि मन विचलित भएकाले डोटी जिल्लाका सांसदलाई फोन गरेर अभिभावक गुमाएका ती तीन बालबालिकाको शिक्षा, स्वास्थ्य र बसोबासको व्यवस्थाका लागि पहल थालेको शाक्यले जानकारी दिइन् ।

दक्षिणकालीका तीन बालिकाको उद्धारमा संलग्न बाग्मती प्रदेश सभा सदस्य दीपक निरौलाले एसओएस बालग्रामको निरीक्षणपछि अभिभावकविहीन ती बालिकालाई सोही ठाउँमा पठाउने पहल थालिएको जानकारी दिए । कार्यक्रममा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेललगायतको उपस्थिति थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.