Nepal Times
Nepal Times
3
Shares

दशैँमा पनि गुडेनन् सबै बस

दशैँमा पनि गुडेनन् सबै बस

काठमाडौँ: दशैँको छैटौँ दिन बितिसक्दा पनि पूरै सङ्ख्याका लामो तथा मध्यम दूरीका सार्वजनिक बस सञ्चालन हुन सकेनन् । गत चैत ११ देखि थन्किएका बस साउन ७ गते बन्दाबन्दी खुलेपछि चलाउन अनुमति पाए पनि यात्रु नपाएर ग्यारेजमै थन्किएका छन् ।

सामान्य अवस्थामा दिनमा नयाँ बसपार्कबाट मात्रै दैनिक २५ सय बस बाहिरिन्थे तर हाल दशैँको अवसरमा पनि दैनिक छ सय बस मात्र बाहिरिएका छन् । यात्रु नभएका कारण बस कम चलेका हुन् । कोरोनाको बन्दाबन्दीपछि यात्रुको रोजाइ बसभन्दा पनि हवाई यातायात परेको छ । ट्राफिक प्रहरीका अनुसार असोज १ देखि कात्तिक ४ सम्म काठमाडौँ उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारीसाधन बाहिरिए । विगतका वर्षमा झन्डै ३० लाख मानिस राजधानीबाट बाहिरिने गर्दथे ।

त्यसैगरी एक महिनामा छ लाख ७० हजार ८१ यात्रु काठमाडौँबाट बाहिरिए भने एक लाख ५३ हजार ६१० सवारीसाधनबाट छ लाख २० हजार ८९ भित्रिए । यही कारण दशैँको चलपहलले यातायात व्यवसायलाई छोएको छैन । हाल जम्मा ४० प्रतिशत मात्र बस चलेका छन् भने ६० प्रतिशत ग्यारेजमै थन्किएका छन् ।

यात्रु नभएपछि सबै बस नचलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । दशैँमा पनि यात्रुको चाप नभएपछि व्यवसायी अचम्मित छन् । व्यवसायबाटै पलायन हुने सम्भावना देखिएको सरोकारवालाको भनाइ छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “परिस्थिति सोचेभन्दा बाहिर भयो । यतिसम्म होला भनेर सोचेकै थिएनौँ । ४० प्रतिशत मात्रै बस चलेका छन् अरू थन्किएका छन् । चलेकाको पनि खर्च धान्न सक्ने अवस्था छैन । ”

बजारमा चहलपहल भए पनि मानिसहरू यात्रा गर्न भने डराइरहेका छन् । अति आवश्यक काम परेका वा विदेशबाट आएकाबाहेक बसले यात्रु पाएका छैनन् । दशैँ मनाउन घर जाने भनेर बस चढ्नेको सङ्ख्या ३० प्रतिशत पनि नरहेको सिटौलाको दाबी छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.