Nepal Times
Nepal Times
3
Shares

दाना उद्योगमा ३५ अर्ब लगानी

दाना उद्योगमा ३५ अर्ब लगानी

वीरगञ्ज: नेपाल कुखुरा तथा पशुदानामा आत्मनिर्भर बन्दै गएको छ । करीब २ दशकको अवधिमा नेपाल दाना उत्पादनमा आत्मनिर्भर बनेको उद्यमीहरूले बताएका छन् ।

अहिले पनि अधिकांश कच्चा र सहायक कच्चा पदार्थको आपूर्ति भने आयातकै भरमा चलेको छ । कुखुरा दानाको व्यावसायिक उत्पादनमा हात हाल्ने पहिलो औद्योगिक प्रतिष्ठान निम्बस समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवालका अनुसार एउटा दाना उद्योगमा स्थिर र चालू पूँजी गरी कम्तीमा १ अर्ब रुपैयाँ लाग्छ ।

अहिले यस्ता उद्योगको संख्या ३५ पुगिसकेको छ । कतिपय उद्योगले विभिन्न स्थानमा उत्पादनका युनिट विस्तार गरेका छन् । कुखुरा दाना उत्पादनमा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अग्रवाल बताउँछन् ।

नेपालमा कुखुराजन्य व्यवसाय विस्तार भएसँगै दानाको खपत ह्वात्तै बढेको ओसीबी फिडका सञ्चालक सुरेश रुङ्गटाको अनुभव छ । यो उद्योग दानाको बजार अंशमा अग्रणी मानिन्छ । ‘अहिले कुखुरा दानाको बजारमात्रै वार्षिक १ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । वर्षमा १८ देखि २० लाख मेट्रिकटन दाना खपत हुन्छ,’ सञ्चालक रुङ्गटाले भने ।

पशु र पन्छीको दाना र यससँग जोडिएका अन्य उद्योगलाई समेट्दा लगानी १ खर्बभन्दा माथि जाने अनुमान अग्रवालको छ । शुरूमा कुखुराको दाना बनाएका उद्योगले पशु आहारसमेत उत्पादन गर्न थालेका छन् ।

कच्चा पदार्र्थका लागि कति उद्योगले भटमासको पिनासमेत आफै उत्पादन गरेका छन् । निम्बस समूहले वीरगञ्जमा सञ्चालन गरेको प्रोबायोटेक इन्डस्ट्रिजले पिना उत्पादनकै लागि भटमासको तेल उद्योग चलाएको छ ।

वीरगञ्ज र विराटनगरमा यस्ता अन्य पाँच ओटा उद्योग खुलेका छन् । याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.