Nepal Times
Nepal Times
3
Shares

द भ्वाइस अफ नेपाल सिजन–३ को घोषणा, नयाँ कोचमा तृष्णा गुरुङ

द भ्वाइस अफ नेपाल सिजन–३ को घोषणा, नयाँ कोचमा तृष्णा गुरुङ

२९ पुस, काठमाडौँ ।

नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् द भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसनमा नेपालसहित बिभिन्न देशबाट झण्डै ४० हजार प्रतिभाहरुले सहभागीता जनाएका छन् ।

झण्डै एक महिनासम्म चलेको अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएकाे  । भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभाहरु पनि यो अडिसनमा सहभागी भएका छन् । अडिसनमा सहभागी प्रतिभाको संख्या अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर हो ।

‘अडिसनमा सहभागी हुने प्रतिभाहरुको संख्या र गायकी दुवै हिसावले निकै उत्साहजनक देखिएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘भूगोल र बिविधतामा राम्रो प्रतिनिधित्व भएको छ।’

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रम उत्पादनका लागि तिब्र गतिमा काम भइरहेको र आगामी एक महिनाभित्रै सिजन ३ को प्रसारण सुरु हुने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए । कार्यक्रम हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।

प्रायोजकसँग सम्झौता 
यसैवीच द भ्वाइस अफ नेपाल सिजन ३ का मुख्य मुख्य प्रायोजकहरुसँग सम्झौता भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा ओप्पो मोबाइल रहेको छ भने पावर्ड बाईमा बजाज पल्सर मोटरसाइकल र माइ सेकेण्ड टिचर रहेको छ । यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफर र लोटस हर्बल को–स्पोन्सर रहेका छन् । कार्यक्रमको भोटिङ पार्टनरमा प्रभु पे आबद्ध भएको छ भने एसोसिएट स्पोन्सरमा डावर रियल जुस र हिमालय हर्वल अनुवन्ध भएका छन् । यो सिजनको एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।

नयाँ कोचमा तृष्णा गुरुङ
द भ्वाइस अफ नेपालको तेस्रो सिजनमा अनुबन्ध भएका कोचहरुसमेत आजै सार्वजनिक गरिएको छ । अघिल्ला दुई सिजनमा कोच रहेका दीप श्रेष्ठ र प्रमोद खरेलले लगातार तेस्रो बर्ष पनि निरन्तरता पाएका छन् ।

नयाँ कोचमा अनुबन्ध भएकी गायिका तृष्णा गुरुङ लोकपप शैलीका गीतमार्फत् नेपाली युवापुस्ताका दर्शकमाझ लोकप्रिय छिन् । गायनसँगै उनको पहिचान गीतकार र संगीतकारका रुपमा पनि स्थापित छ । गाइने दाजैले सारङ्गी रेट्दैमा, माया पिरती, गुराँशै फुल्यो लगायत थुप्रै गीत करोडौं दर्शकले मन पराएका छन् ।

गत बर्ष अनुबन्ध भएका कोच राजु लामा पनि यो बर्ष कोचका रुपमा पुनः आउने छन् । नयाँ कोचमा गायिक तृष्णा गुरुङ अनुबन्ध भएकी छन् । निकै चर्चित गीतहरुमार्फत नेपाली सांगीतिक जगतमा स्थापित भएकी लोकप्रिय गायिका गुरुङले यसपटक आफ्नो टीममार्फत् अन्य कोचहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार नेपालको हालै सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.