×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धारामा बरफ जमेपछि जनजीवन कष्टकर बन्दै

१४ पुष २०७७

१४ पुस, सुर्खेत ।
साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ ।

मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो । कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् । जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८.५ डिग्री सेल्सियसमा झरेको छ ।

जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिए । “चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भने, “हिमपात भने भएको छैन । यद्यपि, यहाँका नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।”

कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीले जनाए । जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी आउन छाडेको छ ।

मोटरसाइकल गाडीमा पेट्रोल डिजेल जम्दा सञ्चालमा ल्याउन सकस भएको छ । यसले गर्दा यातायात व्यवसायीलाई पनि सेवा प्रवाह गर्न गाह्रो भएको यातायात व्यवसायी ज्वारीलाल भट्टराईले बताए । शौचालयका धारा बन्द भएपछि नागरिकलाई शौच गर्नसमेत कठिनाइ भएको छ ।

चिसोले पानीका पाइप फुट्न थालेका छन् । मुख्यतयाः मानव जीवनका लागि दैनिकरूपमा नभई नहुने पिउनेपानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायले जानकारी दिए । “हाम्रो काम उपभोक्ताको धारामा पानी पठाइदिने हो ।

पाइप भाँचिए टुटेफुटेको अवस्थामा मर्मत गरी पानी पठाएकै छौँ”, अध्यक्ष रोकायले भने, “बरफ बनेर बन्द भई धारामा पानी नआउनु प्राकृतिक अवस्था हो । यसमा हामीले के नै गर्न सक्छौँ र ?” करिब दुई हजार उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको उनको भनाइ थियो ।

त्यतिमात्र होइन, घरमा राखिएका ग्यास सिलिण्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीय पदमलाल महतले राससलाई जानकारी दिए।

“गाउँका स्थानीयवासी दाउरा बाल्ने भएकाले केही सहज भए पनि हामी बजारमा बस्नेलाई अहिले निकै गाह्रो भइरहेको छ”, महतले भने, “जमेको धारामा तातोपानी खन्यायो भने बरफ पग्लिएर पानी आउँथ्यो तर दाउरा छाडेर बाल्दै आएका सिलिण्डर ग्याससमेत जमेपछि झन् ठूलो सङ्कट निम्तिएको छ ।”

धारामा बरफ जम्दा घरमा न पानी छ न त आगो बाल्ने दाउरा छ । सिलिण्डर ग्यासको विकल्पमा दाउरा खोज्नुपर्ने त्यहाँ बाध्यता आइलागेको छ । धारा र पाइपमा बरफ जमेपछि स्थानीयवासी पानी जोहोका लागि प्राकृतिक मूल खोजी गर्न थालेका छन् ।

“जमेको पानी पग्लाउन आगो बालेर पानी तताउनुहुन्थ्यो तर धाराबाटै पानी खस्न छाडेपछि के तताउने ? स्थानीय सविना शाहीले भनिन्, “तताउनका लागि दाउरा छैन । सिलिण्डरको ग्यास पनि फ्रिज भएको छ ।”

मूलमा पानी नजम्ने भएकाले त्यस्ता स्रोत नजिक भएका गाउँहरुलाई सजिलो भएको शाहीले जनाए । उनले भने, “घरमा पानी नआउँदा मूल नजिकै बनाइएका परम्परागत काठ तथा ढु्ङ्गेधारा धाउनुपरेको छ ।

मेलापात, धारा, पानी पँधेरामा महिला सहभागी हुने भएकाले यसको बढी सङ्कट पनि महिलाले नै भोग्दै आएका छन् ।” चिसोले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सुत्केरी बढी प्रभावित भएका छन् ।

यो समयमा दम, निमोनिया, रुघाखोकी, कोल्ड डाइरियाका रोगी अस्पतालमा बढी आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिए ।

“यतिबेला ज्येष्ठ नागरिक, दीर्घरोगी र बच्चा अस्पतालमा बढी आउने गरेका छन्”, डा. तिवारीले भने, “चिसोले ‘अपरेसन थियटर’मा बेहोस बनाएर उठाउँदा अलि कठिनाइको महसुस हुन्छ ।”

उनले यो समयमा सबैले आफूलाई न्यानोमा राख्न, झोलिलो चिज खान र ज्येष्ठ नागरिक र बालबालिकालाई बरफमा लड्नबाट जोगाउन सल्लाह दिएका हुन् ।

एकातिर चिसो, अर्कोतिर लोडसेडिङ

यतिबेला जुम्लामा एकातिर चरम जाडो छ त अर्कोतिर लोडसेडिङ भइरहेको छ ।

चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन । विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटरलगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।

प्राधिकरण जुम्लाका कार्यालय प्रमुख गौरव पाण्डेका अनुसार २२० किलोवाट क्षमताको विद्युत् घटेर ११० किलोवाटमा झरेपछि लोडसेडिङको समस्या बढेको हो । कार्यालय प्रमुख पाण्डेले हाल करिब छ घण्टा जति मात्र विद्युत् आपूर्ति हुने गरेको बताए । उपभोक्ता नेत्र शाहीले भने २४ घण्टामा २१ घण्टा जति लोडसेडिङ हुँदै आएको गुनासो पोखे ।

राष्ट्रिय प्रसारण लाइन नजोडिएसम्म जुम्लाको विद्युत्को समस्या समाधान नहुने प्राधिकरण प्रमुख पाण्डेले जिकिर गरे । यहाँको तत्कालको समस्या समाधानका लागि भने फाइल लिएर काठमाडौँ जान थालेको उनको भनाइ थियो ।

जाडोले सरकारी कार्यालय तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई काम गर्न अप्ठ्यारो पर्दै गएको छ । वर्षा र हिमपात नभए पनि कर्मचारीले कार्यालयमै आगो बालेर दैनिक सेवा प्रवाह गरिरहेका छन् ।

आगो बालेर भए पनि कर्मचारीले सेवाग्राहीलाई सेवा दिइरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । यद्यपि कार्यालयमा रहेका मेसिनरी सामग्री फ्याक्स, प्रिन्टर पनि चिसोले जाम हुन थालेपछि कार्यालयको काम प्रभावित हुँदै गएको जनाइएको छ ।

फिल्टर र बोतलको पानी ठप्पै रोकिएको छ । यो समयमा विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई अझ बढी समस्या हुँदै गएको चन्दननाथ नमूना मावि खलङ्गा जुम्लाका प्रधानाध्यापक टङ्कबहादुर महतले जानकारी दिए ।

राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कअनुसार हाल कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने तीन लाख ८१ हजार नागरिक यसबाट प्रभावित भएका छन् । जाडोको चरम पीडामा माथिल्लो डोल्पाको धो, तराप, हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका र मुगुको कार्मारोङ गाउँपालिका र जुम्लाका पातारासी गाउँपालिकाका नागरिक रहेका छन् ।

हुम्लाको उत्तरी क्षेत्रमा नाम्खा गाउँपालिका–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी देखिन छाडेको सीमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिएका छन् ।

कठोर चिसोले सुरक्षाकर्मी नै असुरक्षित रहेकाले नियमित सेवाका काम गर्नसमेत निकै कठिन भएको प्रहरी निरीक्षक केसीले बताए ।(रासस)

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top