Nepal Times
Nepal Times
3
Shares

नवलपुरको कावासोतीमा अवरुद्ध राजमार्ग अझै सञ्चालमा आएन

नवलपुरको कावासोतीमा अवरुद्ध राजमार्ग अझै सञ्चालमा आएन

१५ पौष, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा हिजो बिहानदेखि बन्द राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन।

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग बन्द भएको हो । बन्द भएको राजमार्ग ३० घण्टा बितिसक्दा समेत मर्मत हुन सकेको छैन।

हिलोका कारण गाडी फसेपछि झनै समस्या भएको छ । बन्द सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो भएको हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

नवलपुर क्षेत्रमा आज बिहानबाट वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उनको भनाइ छ । फेरि वर्षा भएमा भने गाडी सञ्चालनमा आउन अझै समय लाग्ने उनले बताए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – बुटवल सडक खण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक बन्द हुने गरेको छ। धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

कावासोतीमा सडक बन्द भएपछि साना गाडी तथा बसहरु कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठूला तथा मालवाहक गाडी सडकमै रोकिएका छन्। अहिले पनि कावासोती र प्रगतिनगर क्षेत्रमा गाडीको लामो लाइन लागेको छ ।

राजमार्ग विस्तारको क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरमा रहेको पूर्व–पश्चिम राजमार्ग बन्द भएको थियो ।

विभिन्न ठाउँमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति पुग्ने, हिलो हुने र गाडी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ बन्द हुने गरेको छ ।

कम जनशक्ति परिचालन भएका कारण कल्भर्ट तथा पुल निर्माणको काम समयमा सम्पन्न हुन नसकेको स्थानीयको गुनासो छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.