Nepal Times
Nepal Times
3
Shares

नवोदितसहित ८ जनालाई जेसीजको राष्ट्रिय सम्मान

नवोदितसहित ८ जनालाई जेसीजको राष्ट्रिय सम्मान

१० पुस, चितवन ।
नेपाल जेसीजले आफ्नो ४६ औं राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ८ जना युवाहरूलाई राष्ट्रिय सम्मानबाट सम्मानित गरेको छ । चितवनको रत्ननगरमा सुरु भएको महाधिवेशनका अवसरमा जेसीजका देशभरबाट सिफारिस भई आएका मध्ये उत्कृष्ट छनौट भएका युवाहरूलाई सम्मान गरेको हो ।

साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान गरेबापत नवोदितलाई जेसीजले सम्मान गरेको हो । उनी दुई दशकदेखि साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै जेसीजले कला संगीततर्फ विल्सन विक्रम राई (तक्मेबूढो) विज्ञान प्रविधिबाट काठमाडौंका विकल्प ढुंगाना, खेलकुदतर्फबाट राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाही, मानवअधिकारका क्षेत्रमा भैरहवाकी विपना शर्मा र स्वास्थ्य क्षेत्रबाट चितवनमा विशाल श्रेष्ठलाई सम्मान गरेको छ । जेसीजले काठमाडांैकी सिर्जना तिम्सिनालाई देशको प्रतिष्ठा बढाउन उच्च भूमिका खेलेको भन्दै राष्ट्रिय सम्मान प्रदान गरेको छ । उनीहरूलाई स्वर्णपदकसहित नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गरेका थिए । कार्यक्रममा दाहालले युवाको क्षमता विकासमा जेसीजले महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्र निमार्णमा युवाहरूलाई समाहित गराउन आग्रह गरे । उनले आर्थिक समृद्धि र विकासमा युवाको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए । जेसीजले हरेक वर्ष राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ४० वर्ष मुनिका युवाहरूलाई सम्मान गर्दे आएको छ । शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजका देशभर १ सय ५५ शाखा रहेका छन् । जेसीजमा करिब २० हजार युवा आबद्ध छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.