Nepal Times
Nepal Times
3
Shares

नेपालमा कोभाक्स सुविधाबाट खोप ल्याउन विवरण पठाइँदै

नेपालमा कोभाक्स सुविधाबाट खोप ल्याउन विवरण पठाइँदै

काठमाडौँ : नेपालले कोभाक्स सुविधाअन्तर्गत सहुलियत दरमा समयमै कोभिड–१९ को खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण पठाउने तयारी गरेको छ । कोभाक्सले आफूसँग आबद्ध १८६ मुलुकलाई खोपसँग सम्बन्धित प्राविधिक जानकारी पठाउन भनेपछि सरकारले तयारी थालेको हो । मुलुकमा खोपका लागि भएको कोल्ड चेनको अवस्था र सञ्चारलगायतका जानकारी अनलाइनबाट छिटो पठाउन भनिएकाले प्राविधिक जानकारी दिने अन्तिम तयारीमा पुगेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सजिलै कोभिड खोप पाउनका लागि विभिन्न मुलुकको समूह तयार पारेको छ । डब्लूएचओले यो समूहलाई कोभाक्स अर्थात् ‘ग्लोबल भ्याक्सिन फेसिलिटी’ नाम दिएको छ । सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य छ । कोभाक्समा थुप्रै गरिब र धनी देश जुटेका छन् । यसको समग्र उद्देश्य कोभिड महामारी रोक्न खोप, उपचार, परीक्षण र अन्य स्रोत बृहत् रूपमा उपलब्ध गराउनु हो ।

हाल कोभाक्समा सहभागी १८६ मुलुकमध्ये ९२ न्यून र मध्यम आय भएका राष्ट्र छन् । नेपाललाई न्यून आय भएको मुलुकमा राखिएको छ । युनिसेफका अनुसार कोभाक्स सुविधाअन्तर्गत न्यूनतम २ अर्ब खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग बोलपत्र आह्वान गरेर प्रस्ताव मागिएको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)’ को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति गर्ने योजना बनाइएको हो । हाल विश्वमा कोभिडविरुद्घ १५४ वटा खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोगको चरणमा रहेको गाभीले जनाएको छ । यस्तै, २१ वटा खोप पहिलो चरणको ट्रायलअन्तर्गत स्वस्थ युवामा र १३ वटा खोप दोस्रो चरणअन्तर्गत मानिसको ठूलो समूहमा परीक्षण भइरहेको छ । १० वटा खोपको प्रभाव हेर्न अन्तिम अर्थात् तेस्रो चरणको बृहत् अन्तर्राष्ट्रिय परीक्षण भइरहेको छ । हालसम्म कुनै पनि खोपले सामान्य उपयोगका लागि स्वीकृत र लाइसेन्स भने पाएको छैन ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.