Nepal Times
Nepal Times
3
Shares

नेपाल आउने विदेशी कामदारको संख्या घट्यो

नेपाल आउने विदेशी कामदारको संख्या घट्यो

१६ फागुन, काठमाडौँ । नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार माघ मसान्त (७ महीना) सम्म ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने ७८३ जना नयाँ विदेशी कामदार रोजगारीका लागि नेपालमा आएका थिए ।

यस्तै यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका थिए । गत आवभर भने १ हजार ९१ जनाले नयाँ श्रमस्वीकृति र ९५९ जनाले श्रमस्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रमस्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् ।

दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रमस्वीकृति नलिई नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । नेपालमा जलविद्युत् आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बीमा कम्पनी, विमान कम्पनी, गैरसरकारी संस्थालगायत क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालबाट अर्बाैं रुपैयाँ रेमिट्यान्स (विप्रेषण) लैजाने गरेका पनि छन् ।

विशेषगरी यसपटक कोरोनाका कारण विदेशी कामदारको आगमन घटेको बताइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.