२५ असोज, काठमाडौँ । नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् ।
चीन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत वर्ष उच्च शिक्षाका लागि ५० सिट उपलब्ध गराएको थियो । मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाका अनुसार इन्जिनियरिङका लागि २६, कृषिका लागि छ, वनका लागि चार, विज्ञान तथा प्रविधिका लागि पाँच र मानविकीका लागि एक जनालाई छनोट गरी पठाइएको थियो ।
उनीहरूले स्नातकोत्तर तहका लागि छात्रवृत्ति पाएका थिए । आठ जनाले विद्यावारिधिका लागि पनि छात्रवृत्ति प्राप्त गरेका थिए । स्नातकोत्तर तहका लागि दुईदेखि तीन वर्ष र विद्यावारिधिका लागि बढीमा पाँच वर्षका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यो समाचार गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् ।