काठमाडौं : सीमा विवादपछि उत्पन्न गतिरोध अन्त्यका लागि नेपाल–भारतबीच विभिन्न संयन्त्रको बैठक बस्ने तयारी भएको छ। त्यसका लागि काठमाडौं र नयाँदिल्ली आन्तरिक तयारीमा जुटेका छन्। दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल–भारत संवादहीनताका कारण रोकिएको मन्त्रीस्तरीय र सचिवस्तरीय बैठकको तयारी गरिरहेका छन्।
भारतले नेपालसँगको सम्बन्ध थप कसिलो बनाउन भारतीय राजनीतिमा प्रभाव राख्ने मन्त्रीलाई नेपाल भ्रमण गराउनेसमेत तयारी भइरहेको उच्च स्रोतले दाबी गरेको छ। नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनामा छिट्टै विश्वासिला र प्रभावशाली मन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी भएको छ। त्यस्तो प्रकारको उच्चस्तरीय राजनीतिक भ्रमण उपयुक्त समयमा छिट्टै गराउने तयारी भएको स्रोतले जनाएको छ।
त्यसअघि हुने सचिव र मन्त्रीस्तरीय बैठकले उक्त उच्चस्तरीय राजनीतिक भ्रमणको वातावरण बनाउने स्रोतको दाबी छ। पुस ४ गते विवाह पञ्चमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल रूपमा जनकपुर–जयनगर रेल सेवाको औपचारिक शुभारम्भ गर्ने तयारी भएको छ।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।