अछाम, १५ वैशाख ः विश्वको सबै भन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

प्रदेश नं ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ ।

अगाडिको खुट्टादेखि जुरो सम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीले नौमुठ्ठे गाई भन्ने गरेको जिल्ला पशुसेवा कार्यालय अछामका पशु चिकित्सक झनकदत्त ढुंगानाले बताए । ‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिन्छ, केही गाई पोखराको गाईभैंँसी फाराममा पनि पालिएका छन् उनले भने, “लोपोन्मुख प्रजाति भएकाले यसको बीर्य संकलन गर्ने उद्देश्यले, पशु प्रजनन महाशाखा खुमलटारमा पनि यो गाईको साढे पालिएको थियो । यो गाईको संख्या ज्यादै न्यून भएको र कृषकले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ ।”

‘यसलाई दिइने घाँसपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ, यो गाईलाई राम्रोसँग स्याहार सुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्नसक्छ’ साँफेका कालुसिंह कुँवरले भने । “यसको दूध निकै पोषिलो पनि हुन्छ”, उनले भने, “एक सय ५० किलो तौल भएको यो गाईले दुई देखि तीनमानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै बढी हो ।”

अछामका विभिन्न गाउँ तथा बस्तीमा रहेका नौमुठ्ठे गाईको संख्या ४४७ मात्र रहेको तथ्यांक जिल्ला पशुसेवा कार्यालय अछामसँग छ ।
यो गाई अछाममा मात्र पाइने भए पनि पछिल्लो समय छोरीको विवाहमा दाइजोस्वरूप दिने चलनले गर्दा अन्य जिल्लामा समेत पाइन थालेको छ ।

यो गाई सानो रहेकाले पाल्न सहज हुने मानिन्छ । यस प्रजातिका गाईहरूले एक बेतमा करिब २०० लिटरसम्म दूध दिन्छन् । धार्मिक पर्व तथा तीर्थब्रतमा यसको आवश्यक मानिन्छ । यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा पनि लिइन्छ ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top