१० चैत्र, एजेन्सी ।
न्यूर्योकमा कोरोना भाइरसको संक्रमणले थप जोखिम निम्त्याउने खतरा देखिएको छ ।
अबको केही दिनभित्रै अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुने र यसले शहरको अवस्था अकल्पनीय हुने जोखिम रहेको मेयर बिल डी ब्लासिओले चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘अबको १० दिनसम्मका लागि पुग्ने मात्रै स्वास्थ्य सामग्री छ, त्यसपछि ठूलो अभाव सिर्जना हुनेछ ।
हामीले थप भेन्टिलेटर प्राप्त नगरेमा मानिसहरु मर्ने छन् ।’ न्यूर्योक राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा अहिलेसम्म ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा झण्डै आधा न्यूर्योक राज्यमा छ ।
अमेरिकामा अहिलेसम्म चार सयजना भन्दा बढीको मृत्यु भएको छ । न्यूर्योकमा शनिबारसम्म संक्रमितको संख्या चार हजार भन्दा बढी थियो, तर आइतबार यो संख्या बढेर १५ हजार १६८ भन्दा बढी पुगेको हो । विश्वमा संक्रिमत भएका मध्ये पाँच प्रतिशत न्यूर्योकमा छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मेजर डिजास्टरको घोषणा गरेका छन् राज्यका लागि र केन्द्र सरकारले अर्बौँ डलरको सहयोग प्रदान गर्ने भएको छ । तर केन्द्र सरकारले उपयुक्त सहयोग नगरेको भन्दै मेयर डी ब्लासिओले आलोचना गरेका छन् ।