Nepal Times
Nepal Times
3
Shares

परराष्ट्रविद्ले भने – नेपाल र भारतबीच कूटनीतिक संवाद अब बढ्नेछ

परराष्ट्रविद्ले भने – नेपाल र भारतबीच कूटनीतिक संवाद अब बढ्नेछ

१ भदौ, काठमाडौँ ।
पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गरेका छन् । पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको बताएका हुन् ।

हाम्रा संवाददातासँग कुराकानी गर्दै पछिल्ला दुई घटनाले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको टिप्पणी गरेका हुन । नेपाल भारतबीच सीमा विवादका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्री स्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको तर्क डा. थापाले गरेका हुन् ।

उनले संवादको सुरुवात मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताए । उनले भने ‘दुई देशको विकास निर्माण सम्बन्धी निकायको ढिलासुस्ति भयो काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो । त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समिक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो त्यसको बैठक भएको हो यो । त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा हामीले लियौं । किनकी त्यो भन्दा अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भएको थिएन । भारतको स्वतन्त्रता दिवसको अवसरमा दुईवटा प्रधानमन्त्रीको बिचमा वार्ता हुने र वार्तामा भनिए नभनिएपनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई माथिल्लो तहमा सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याहरुको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो । त्यसले गर्दा जुन एउटा अप्ठेरो पनले संवादहीन परिस्थिति सृजना भएको थियो त्यसो भएकाले संवादको सुरुवात सिमित रुपमा विकास निर्माणको आयोजनाहरुको समालोचना गर्ने र त्यसपछि दुईवटा प्रधानमन्त्रीको बिचमा सम्बन्ध भएकोले गर्दा संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ की भन्ने कुरा बुझ्न सकिन्छ ।’

सीमा विवादपछि नेपाल र भारतबीच संवाद हिनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो । यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको थियो । त्यस्तै स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरुसँग सुरक्षा, विकास र विस्वासको साझेदारीका साथ सांस्कृतीक, आर्थिक र समाजिक रुपमा सम्बन्धलाई बलियो बनाउने बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.