Nepal Times
Nepal Times
3
Shares

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

१० फागुन, म्याग्दी ।
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो । कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले एक हजार २७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए ।

“उकालोमा १.५ मिटर चौडाइमा ढुङ्गा चिनेर र तेर्सोमा ढुङ्गा बिछ्याइएको छ”, उनले भने, “उपभोक्ता समितिले रु ३९ लाख २० हजार भुक्तानी लगेका छन् ।” देउराली भन्ने ठाउँभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको हो ।

यसैगरी मालिका धुरी परिसरमा ५१० मिटर सुक्खा पर्खाल निर्माण भएको छ । पदमार्गमा प्रयोग गर्ने ढुङ्गा ओसार्न थप ३०० मिटर माटो काटेर पदमार्ग बनाइएको छ । डेढ सय स्थानीय युवाले एक महिनासम्म जङ्गलमा बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताए ।

“नजिकै बस्ती नभएकाले जङ्गलमै बास बसेर पदमार्ग बनायौँ”, उनले भने, “मजदुरलाई शिविर बनाएर राख्नुपर्दा व्यवस्थापनमा पनि खर्च भयो ।” यसअघि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो ।

पदमार्ग निर्माण भएपछि सुरक्षित र सहजरूपमा यात्रा गर्न सकिने भएको बिमका पलवीर जुग्जालीले बताउनुभयो । “साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो”, उनले भने, “अब भने ढुक्क भएर हिँड्न सकिन्छ ।”

सडक र पदमार्ग बनेपछि मालिकाको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटदेखि धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।

“बिमबाट अहिले साढे दुईदेखि तीन घण्टामै मालिका पुग्न सकिन्छ”, उनले भने, “पहिलेको तुलनामा आधाभन्दा धेरै यात्रा अवधि घटेको छ ।” मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ ।

रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र रु चार लाख २० हजारमा बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ ।

बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।

“सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ”, उनले भने, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।”

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।

सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो ।

गत वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ । थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उनका अनुसार खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी भएको छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.