Nepal Times
Nepal Times
3
Shares

पहिलो वान डेमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हरायो

पहिलो वान डेमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हरायो

१२ मंसिर, एजेन्सी ।
अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । जितसँगै अष्ट्रेलियाले तीन ओडिआई खेल खेलको सिरिजमा १–० को अग्रता लिएको छ । शुक्रबार साँझ सिड्नी क्रिकेट मैदान सिड्नीमा सम्पन्न खेलमा जितको लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो ।

भारतका ओपनर शिखर धवन र अलराउन्डर हार्दिक पान्ड्या बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । पान्ड्याले तल्लोक्रममा ७६ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिएपनि जितका लागि पर्याप्त भने थिएन । धवनले ८६ बलमा १० चौका सहित ७४ रनको योगदान दिए ।

कमजोर सुरुवात गरेको भारतलाई पाँचौ विकेटका लागि धवन र हार्दिक पान्ड्याले १ सय २८ रनको साझेदारी गर्दै जितको झिनो आशा कायमै गरेका थिए । स्पिनर एडम जाम्पाको ३५ औं ओभरको तेस्रो बलमा धवन मिड अफमा मिचेल स्टार्कबाट क्याच आउट भएपछि भारतको जितको सम्भावना टाढिएका थियो ।

जाम्पाकै ३९ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका हार्दिक लङ अनमा स्टार्कबाट क्याच आउट भएपछि पहिलो ओडिआई शतक अधुरै बनेको थियो । यो हार्दिकको ओडिआई करिअरको उच्च प्रर्दशन हो ।

भारतले पहिलो विकेट छैटौं ओभरको दोस्रो बलमा गुमाएको थियो । ओपनर मयंक अग्रवाल र धवनले पहिलो विकेटका लागि ५।२ ओभरमा ५३ रनको साझेदारी गरेका थिए । जोश हेजलवुडले अग्रवाललाई ग्लेन म्याक्सवेलबाट २२ रनमा क्याच आउट गराए । अग्रवालले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

विशाल लक्ष्य पछ्याइरहँदा दशौं ओभरमा भारतले प्रमुख दुई ब्याट्सम्यान गुमाएको थियो । तेस्रो बलमा हेजलवुडले कप्तान विराट कोहलीलाई आरोन फिन्चबाट २१ रनमा क्याच आउट गराए । कोहलीले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे । एडम जाम्पाले क्याच ड्रप गर्दा कोहलीले ब्यक्तिगत एक रनमै जीवनदान पाएका थिए । तर उक्त जीवनदानको सदुपयोग लामो समय भने गर्न पाएनन् ।

एक बलपछि श्रेयस ऐर बाउन्सर बलमा टप एज लागेर विकेटकिपर एलेक्स केरीबाट २ रनमा क्याच आउट हुँदा भारत ८०–३ को कमजोर अवस्थामा पुगेको थियो । स्पिनर एडम जाम्पाले १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर लोकेश राहुललाई १२ रनमा स्टिभ स्मिथबाट क्याच आउट गराएपछि अष्ट्रेलिया हाबी बनेको थियो ।

तल्लोक्रममा रविन्द्र जडेजा २५, नवदीप सैनी २९ र मोहम्मद शामीले १३ रनको योगदान दिए । स्पिनर एडम जाम्पाले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन कप्तान आरोन फिन्च र स्टिभ स्मिथले सानदार शतक प्रहार गर्दा डेभिड वार्नर र ग्लेन म्याक्सवेलले पनि राम्रो ब्याटिङ गरे ।

स्मिथले आक्रामक ब्याटिङ गर्दै स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । स्मिथले मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । स्मिथ अष्ट्रेलियाबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्न पुगे । स्मिथको ओडिआई करिअरको १० औं शतक पर्दछ । स्मिथलाई अन्तिम ओभरको तेस्रो बलमा मोहम्मद शामीले बोल्ड आउट गरे ।

ओपनर तथा कप्तान आरोन फिन्चले १ सय २४ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक १ सय १४ रनको शतकीय योगदान दिए । फिन्चको ओडिआई करिअरको यो १७ औं शतक हो । उनले १ सय १७ बलमा शतक पूरा गरेका थिए । फिन्च जस्प्रित बुमराहको ४० औं ओभरको अन्तिम बलमा लोकेश राहुलबाट क्याच आउट हुन पुगेका थिए । तल्लोक्रममा ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का सहित ४५ रनको आक्रामक इनिङ खेलेका थिए ।

अष्ट्रेलियालाई दुई ओपनर फिन्च र वार्नरले पहिलो विकेटका लागि २७।५ ओभरमा १ सय ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी २८ औं ओभरको पाँचौ बलमा तीव्र गतिका बलर मोहम्मद शामीले वार्नरलाई क्याच गराउँदै तोडेका थिए । सामीको बलमा आउट साइड एज लागेपछि वार्नर ६९ रनमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगे । कप्तान विराट कोहलीले रिभ्यु लिदै वार्नरलाई पेभिलिएन फर्काए । वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाको बलमा एम्पायरले स्मिथलाई ब्यक्तिगत १५ रनमा एलबिडब्लू आउट दिएका थिए । तर स्मिथले रिभ्यु लिदै एम्पायरको निर्णय गलत सावित गर्दै शतक पूरा गरे । दोस्रो विकेटका लागि फिन्च र स्मिथले १ सय ८ रनको साझेदारी गरेका थिए । आजको खेलमा मार्कस स्टोइनिस भने असफल भए । ४१ औं ओभरको चौथो बलमा स्टोइनिसलाई चहलले राहुलबाट शून्यमा आउट गराएका थिए ।

चौथो विकेटका लागि स्मिथ र म्याक्सवेलले २५ बलमा ५७ रनको आक्रामक साझेदारी गरेका थिए । ४५ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा म्याक्सवेल रविन्द्र जडेजाबाट क्याच आउट हुन पुगे । मार्नस लाबुसेन २ रनमा क्याच आउट भए । एलेक्स केरी १७ र प्याट कमिन्स १ रनमा अविजित रहे ।

भारतीय स्पिनर युजभेन्द्र चहलले महँगो सावित हुँदै १० ओभरमा ८९ रन खर्चेर १ विकेट लिए । जुन भारतीय स्पिनरले ओडिआईमा खर्चेको सर्वाधिक रनमा पर्दछ । मोहम्मद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीले १० ओभरमा ८३ रन खर्चेर १ विकेट लिए । दोस्रो ओडिआई खेल सिड्नीमै आइतबार हुने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.