Nepal Times
Nepal Times
3
Shares

पीएम टि-२० क्रिकेट कपः बागमतीलाई ५० रनले हराउँदै नेपाल पुलिस फाइनलमा

पीएम टि-२० क्रिकेट कपः बागमतीलाई ५० रनले हराउँदै नेपाल पुलिस फाइनलमा

४ माघ, काठमाडौँ । प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपाल पुलिस क्लब फाइनलमा पुग्न सफल भएको छ । पुलिसले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । बागमतीका ओपनर आदिल खानले ३३ बलमा ३ चौकासहित सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा ४ चौकासहित २३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर ईशान पान्डे एक रनमै क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आदिलले ४३ रनको साझेदारी गर्दै जितको आशा जगाए । दीपेन्द्रको नवौं ओभरको पहिलो बलमा ज्ञानेन्द्र ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा अनिल शाहबाट क्याच आउट भए । त्यसपछि दीपेन्द्रले बागमतीको इनिङ ध्वस्त बनाएका थिए ।

बागमतीले बाँकी १९ रन जोड्न ७ विकेट गुमाएपछि फाइनल सम्भावना सकिएको थियो । दीपेन्द्रले विपिन आचार्यलाई २ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रले नन्दन यादवलाई ६, प्रतिश जि.सीलाई ४ र आदिल खानलाई आउट गर्दै जित नजिक पुर्याएका थिए ।

रामनरेश गिरी बलमा २५ चौका ३ सहित २२ रनमा अविजित रहे । रिजन ढकाल १७ बलमा २ चौकासहित १५ रनमा अविजित रहे । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । पुलिसका ओपनर पवन सरार्फले ५४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए ।

पवनले दुई जीवनदान पाएका थिए । त्यसको भरपुर सदुपयोग भने गर्न सकेनन् । स्पिनर तिलक भण्डारीको ११ औं ओभरको पाँचौं बलमा कभरमा सुमन सुनवारले पवनको ४३ रनमा ड्रप गरेका थिए । लगत्तै अर्को ओभरको तेस्रो बलमा विकेटकिपर लक्की कठायतले ४७ रनमा क्याच ड्रप गरेका थिए । पवनले ४८ बलमा अर्धशतक पूरा गरेका थिए ।

पुलिसले चौथो ओभरमा दुई ब्याटरलाई गुमाएको थियो । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले चौथो ओभरको तेस्रो बलमा शंकर रानालाई ८ रनमा क्याच गराएका थिए । मिड अनमा रामनरेश गिरीले उत्कृष्ट क्याच लिँदै पेभेलिएन फर्काए । रिजनको यसै ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर मिडअफमा प्रतिश जि।सीबाट शून्यमा क्याच आउट हुन पुगे । अस्वस्थको कारण कुशल भुर्तेल टोलीमा नहुँदा रानाले ओपनिङ गरेका थिए ।

तेस्रो विकेटका लागि पवन र अनिल शाहले ७८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरमा नन्दन यादवले दुई विकेट लिएका थिए । नन्दनले अनिल शाहलाई २५ रनमा एलबीडब्लू आउट गरे । २४ बल खेलेका अनिलले १ चौका प्रहार गरे । दुई बलपछि पवन तिलकबाट क्याच भएका थिए । आरिफ शेख ९ बलमा १ छक्कासहित १२ रनमा क्याच आउट भए ।

दीलिप नाथ १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । राशिद खान ५ रनमा अविजित रहे । बागमतीका रिजन ढकालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नन्दन यादवले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले १ विकेट लिए । दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच केहि समयमा प्रतिस्पर्धा हुँदैछ । फाइनल बुधबार हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.