×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

८ कार्तिक २०८२

७ कार्तिक , काठमाण्डौ ।

युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तय भएको वार्ता एकाएक स्थगित भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने भएका छन् ।

उनीहरुको भेट दक्षिण कोरियामा हुने भएको छ । ३० अक्टोबरमा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको हो । दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन हुँदैछ ।

यो सम्मेलनमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन् । त्यसै क्रममा सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्।दुवै नेताबीचको यो भेटको सम्भावना पहिले नै देखिएको भए पनि अमेरिका–चीनबीच बढ्दो तनावका कारण यसबारे अनिश्चितता थियो।

ट्रम्पले दोहो¥याएर राष्ट्रपति पद सम्हालेपछि दुवै नेताको पहिलो भेटवार्ता हुनेछ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको सबै वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन् ।ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘ट्रुथ’मा लेखेअनुसार क्यानाडाले एउटा विज्ञापन प्रचार गरेको थियो जसमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिगनलाई ट्यारिफविरुद्ध बोलेको देखाइएको थियो ।

ट्रम्पले लेखेका छन्, ‘उसको अत्यन्त अनुचित व्यवहारका आधारमा क्यानाडासँगको सबै वार्ता तत्काल अन्त्य गरिन्छ । अघिल्लो साता क्यानाडाले जारी गरेको एक मिनेट लामो विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिगनको आवाज सुन्न सकिन्छ, जसमा उनी अमेरिकी र क्यानाडेली झण्डाले सजिएका क्रेन तथा न्यूयोर्क स्टक एक्सचेन्जको झलकका बिच बोलेका देखिन्छन् ।

भिडियोमा सन् १९८७ मा रिगनले गरेको राष्ट्रिय रेडियो सम्बोधनको एक अंश सामेल छ, जसमा विदेशी व्यापार र आर्थिक साझेदारीका कुरा थियो । ट्रम्प प्रशासनले हालै क्यानाडाबाट आयात हुने वस्तुमा ३५ प्रतिशत ट्यारिफ लगाएको छ ।

उता ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच हंगेरीको बुडापेस्टमा आगामी दुई हप्ताभित्र हुने भनिएको व्यक्तिगत भेटघाटको योजना भङ्ग भएको छ। ट्रम्पले रुस–युक्रेन युद्धलाई हालको अग्रपङ्क्तिमै युद्धविराम गरेर ‘स्थगन’ गर्ने प्रस्ताव गरेपछि वार्ता भङ्ग भएको हो।

ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै तत्काल कुनै बैठक नहुने सङ्केत दिँदै भने, ‘म व्यर्थको बैठक गर्न चाहन्नँ। म समय बर्बाद गर्न चाहन्नँ, त्यसैले के हुन्छ, हेरौँला।’

४२ महिना लामो रुस–युक्रेन युद्ध अन्त्य गर्ने शान्ति वार्ता भङ्ग भएको यो पछिल्लो घटना हो। दुई महिनाअघि अगस्टमा अलास्कामा ट्रम्प र पुटिनबिच हतारमा भएको शिखर वार्ता पनि कुनै परिणाममा पुग्न सकेको थिएन।

दोस्रो विश्वयुद्धपछिको युरोपको यो सबैभन्दा ठुलो र घातक युद्धमा दुवै पक्षका हजारौँ मानिसहरू मारिएका छन्। गत वर्ष आफ्नो राष्ट्रपतीय अभियानका क्रममा ट्रम्पले रुस र युक्रेनबिचको युद्ध २४ घण्टाभित्रै अन्त्य गरिदिने दाबी गरेका थिए।

यो दाबी गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि र आफ्नो दोस्रो कार्यकालको १० महिनामा) उनले कुनै प्रगति नभएकोमा बढ्दो निराशा व्यक्त गरिरहेका छन्। पुटिनले युद्धविरामका लागि युक्रेनको पूर्ण निःशस्त्रीकरण र युद्धको क्रममा कब्जा गरेको कुनै पनि क्षेत्र रुससँगै राख्नुपर्ने अडान राखेका छन्।

युक्रेनले भने आफ्नो भूमि सुम्पने धारणामा आपत्ति जनाएको छ, र ट्रम्प दुई पक्षको अडानबिच कुनै प्रगति गर्न असमर्थ भएका छन्। आइतबार ट्रम्पले रुसलाई युद्धलाई हालको युद्ध रेखामा नै ‘स्थगन’ गर्न आह्वान गरे, र दुई पक्षले भविष्यका वार्ताहरूमा क्षेत्रसम्बन्धी ‘विवरणहरू’ समाधान गर्ने लक्ष्य राख्न सक्ने बताए।

अमेरिकी राष्ट्रपतिले भने, ‘उनीहरू अहिले युद्ध रेखामा नै रोकिनुपर्छ, घर जानुपर्छ, मानिस मार्न बन्द गर्नुपर्छ र यसलाई टुङ्गो लगाउनुपर्छ। मङ्गलबार जेलेन्स्कीसहित युरोपेली नेताहरूले हस्ताक्षर गरेको एक विज्ञप्तिमा उनीहरूले युद्धलाई तत्काल रोक्न ट्रम्पको प्रस्तावलाई ‘दृढतापूर्वक’ समर्थन गरेको बताएका थिए, र ‘हालको सम्पर्क रेखा नै वार्ताको सुरुवात बिन्दु हुनुपर्ने’ उल्लेख गरे।

ती नेताहरूले रुसी राष्ट्रपतिलाई शान्ति प्रक्रिया अवरुद्ध गरेको आरोप लगाए। विज्ञप्तिमा भनिएको छ, ‘रुसको अवरोध गर्ने रणनीतिले बारम्बार देखाएको छ कि युक्रेन मात्र शान्तिका लागि गम्भीर पक्ष हो। हामी सबै देख्न सक्छौँ कि पुटिनले हिंसा र विनाशलाई निरन्तरता दिइरहेका छन्।’

नेताहरूले जबसम्म पुटिन शान्ति गर्न तयार हुँदैनन्, रुसको अर्थतन्त्र र रक्षा उद्योगमाथि दबाब बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । ट्रम्प–पुटिन बैठकको योजना भङ्ग हुनुभन्दा एक दिन अगाडि, सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी नेताले युद्ध ‘स्थगन’ गर्ने पछिल्लो प्रस्तावलाई स्वीकार नगर्ने स्पष्ट पारेका थिए।

उनले रुसको अडानमा ‘निरन्तरता’ रहेको बताए, जसले युद्ध अन्त्यका लागि आफ्नो कठोर मागहरूमा जोड दिन्छ, जसमा मस्कोले दाबी गरेको पूर्वी क्षेत्रहरूबाट युक्रेनी सेनाको पूर्ण फिर्ती पनि समावेश छ।रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि मङ्गलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग टेलिफोनमा कुरा गरे।

पछि मस्कोमा पत्रकारहरूलाई उनले मस्कोको अडान ‘अलास्का शिखर सम्मेलनको सहमतिभन्दा फरक नभएको’ बताएको जानकारी दिएका थिए । रुस र युक्रेनबिच युद्धविरामको मध्यस्थता गर्ने प्रयासमा ट्रम्पले आफ्नो अडान बारम्बार फेरेका छन्।

अघिल्लो अमेरिकी प्रशासन, राष्ट्रपति जो बाइडेनको नेतृत्वमा, युक्रेनलाई अटल समर्थन व्यक्त गरेको थियो। तर ट्रम्प प्रशासनले यसै वर्षको फेब्रुअरीमा वासिङ्गटन डीसीको ओभल अफिसमा भएको भेटमा जेलेन्स्कीसँग कडा अडान लिएको थियो।

चर्को भनाभनका क्रममा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकाले दिएको सहयोगप्रति पर्याप्त आभार व्यक्त नगरेको भन्दै हप्काएका थिए। मार्चमा ट्रम्पले मस्कोविरुद्ध व्यापक दोस्रो चरणको महसुल र प्रतिबन्धको धम्की दिएका थिए—र अगस्टमा यो धम्की दोहो¥याए।

तर जब उनले पछि अगस्टमा अलास्कामा पुटिनसँग भेटे, तब उनले क्रेमलिनले युक्रेनलाई क्षेत्रहरू सुम्पिन र नेटोबाट टाढा रहन माग गरिरहेका बेला पनि जेलेन्स्कीलाई सम्झौता स्वीकार गर्न दबाब दिइरहेको जस्तो देखिन्थ्यो।

ट्रम्पले पत्रकारहरूलाई भनेका थिए, ‘केही भूमि आदानप्रदान हुनेछ ।’ दुवै पक्षले क्षेत्रहरू त्याग्नुपर्नेमा उनले जोड दिएका थिए। अर्को महिना फेरि आफ्नो रणनीति बदल्दै, ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई समर्थन गरेको जस्तो देखियो, जब उनले किएभले आफ्नो क्षेत्रहरू फिर्ता लिन सक्ने—वा सायद त्योभन्दा पनि अगाडि बढ्न सक्ने बताएका थिए।

अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि मस्कोमाथि दबाब बढाउने उद्देश्यले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकओइल माथि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।

नेटो महासचिव मार्क रुटसँग शान्ति वार्ताका विषयमा छलफल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हरेक पटक भ्लादिमिर (पुटिन) सँग कुरा गर्दा राम्रो कुराकानी हुन्छ, तर त्यसले कुनै निष्कर्षमा पु¥याउँदैन।’

यो प्रतिबन्धको घोषणा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित गरेको भोलिपल्ट आएको हो।ट्रम्पका प्रतिबन्धहरूको समाचारले विश्वबजारमा तेलको भाउमा वृद्धि निम्त्याइसकेको छ।

उक्त घोषणाले लन्डनस्थित रुसी राजदूतावासबाट रुसमा प्रमुख ऊर्जा कम्पनीहरूलाई निसाना बनाउँदा विश्वमा इन्धन आपूर्ति अवरुद्ध हुन सक्ने र मूल्य बढ्न सक्ने अनि यूकेका व्यापार तथा परिवारलाई समेत असर पार्ने भनी प्रतिक्रिया आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top