१ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि सोमबार शुभकामना दिँदै यस वर्षका सबै जसो चाडपर्व कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिइ मनाउन आग्रह गरेकी छन् ।
तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरेकी छन् ।
सन्देशमा पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्वको तिहार प्रकाशको पर्व पनि भएको उल्लेख गर्दै तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरिएको छ ।
साथै राष्ट्रपति भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाण्डौ उपत्यकामा रहेका गरिब नागरिकलाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।