Nepal Times
Nepal Times
3
Shares

प्रचण्डलाई ओलीको प्रश्नः नेतृत्व त्याग्न म तयार छु, तपाईं नि ? [जवाफको पूर्ण पाठ]

प्रचण्डलाई ओलीको प्रश्नः नेतृत्व त्याग्न म तयार छु, तपाईं नि ? [जवाफको पूर्ण पाठ]

१३ मंसिर, काठमाडाैँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफमा ओलीले आफ्नो प्रतिवेदन पेस गरेका हुन् । बैठकपछि प्रतिक्रिया दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

प्रचण्डको प्रतिवेदनमा उल्लेख भएका कतिपय विषय ‘आरोप’ भएको बताउँदै ओलीले त्यसको प्रतिवादका लागि लिखित प्रतिवेदन ल्याउन १० दिनको समय माग गरेअनुसार आजको बैठक सम्पन्न भएको हो । ओलीको प्रतिवेदनमा पार्टी एकताको समीक्षाका साथै सरकारले गरेका काम र उपलब्धिको चर्चा गरिएको छ । यसका साथै उनले अर्का अध्यक्ष प्रचण्डमाथि समेत गुटबन्दी गरेका आरोप लगाएका छन् ।

ओलीले अर्का अध्यक्ष दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोपको संगालोको संज्ञा दिएका छन् । ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको ’प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ । ’त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने उल्लेख छ । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु,’ ओलीको जवाफमा भनिएको छ ।

यस्तै प्रचण्डले पेस गरेको प्रस्तावको जवाफमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी नेतृत्व त्याग्न तयार रहेको उल्लेख गर्दै दाहाललाई त्यसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले प्रस्तावमा आफूलाई लगाएका आरोप पुष्टि गर्न पनि चुनौती दिएका छन् । उनले भनेका छन्, ’कि त आरोप पुष्टि गर्नुस् होइन भने परिणामको जवाफदेहिता लिन तयार हुनुहोस् ।’ नेकपामा दुईजना अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि स्पष्ट रूपमा दुईलाइनको संघर्ष सुरु भएको छ । सचिवालय बैठकका नौ जनामध्ये पाँचजना स्पष्ट रूपमा प्रचण्डको प्रतिवेदनको पक्षमा देखिएका छन् ।

सचिवालयमा ओलीको प्रतिवेदन स्वतः अल्पमतमा परेको अवस्थामा स्थायी कमिटीमा दुवै प्रतिवेदन प्रस्तुत हुनेछन् । यसअघि नै नेकपाले आगामी १८ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिसकेको छ । अबको स्थायी समितिमा दुवै अध्यक्ष प्रतिवेदन छलफलका लागि प्रस्तुत भएपछि तिनीहरूरुलाई संश्लेषण गरेर एकल प्रस्ताव केन्द्रीय समितिमा लैजाने या केन्द्रीय समितिमा पनि दुई बेग्लाबेग्लै प्रस्ताव लैजाने विकल्प खुला रहनेछ ।

अध्यक्ष ओली पक्षधर भने संख्यात्मक रूपमा अल्पमतमा परिने भएकोले दुवै प्रस्ताव फिर्ता गर्ने र साझा प्रस्ताव तयार गर्नुपर्ने मतमा रहेका छन् । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनका आधारमा प्रचण्ड समूहले आगामी रणनीति बनाउने बुझिएको छ । ओली पक्षका रणनीति भने ओलीको प्रतिवेदनमाथि आउने प्रतिक्रियाका आधारमा हुने देखिन्छ । यद्यपि उनीहरूको जोड सकेसम्म दुवै प्रतिवेदन फिर्ता गर्नुपर्नेमै रहनेछ ।

हेर्नुस् प्रस्तावको पूर्णपाठ :

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.