Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गर्न आह्वान

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गर्न आह्वान

३ वैशाख, जनकपुर । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ ।

प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो ।

नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ ।

यसअघि ४ चैत, २०७६ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो । तर नाम र राजधानी तोक्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमत चाहिनेमा नपुगेपछि अस्वीकृत भएको थियो ।

१०७ सदस्यीय प्रदेशसभामा नाम र राजधानी स्वीकृत हुन ६९ सदस्यको समर्थन जुटाउनुपर्छ ।

यसअघिको नाम र राजधानीबारे मतदान हुदा सत्तारुढ तत्कालिन समाजवादी र राजपाले प्रस्ताव गरेको ‘मधेश’ नाममा ६० मत आएको थियो ।

कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामको पक्षमा ४२ मत आएको थियो भने नेकपाले प्रस्ताव गरेको ‘जानकी’ को पक्षमा ३७ र कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’ को पक्षमा २८ मत आएको थियो ।

जनकपुरधामलाई स्थायी राजधानी तोक्ने सन्दर्भमा राजनीतिक सहमति गरिएपनि यो प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

यो प्रस्तावको पक्ष र विपक्षमा ५२–५२ मत आएको थियो भने तीन वटा मत बदर भएको थियो ।

कुल १ सय ७ सांसदमध्ये माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई बर्खास्त गरेपछि अहिले संसदमा सांसदको संख्या १ सय ३ छ ।

यसमध्ये सत्तारुढ जनता समाजवादी पार्टीसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रसँग ७ र नेपाल संघीय समाजवादी पार्टीसँग १ सांसद छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.