Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ मा शीतलहरको कहर : चिसोले ४ को मृत्यु, आगो ताप्दा २ को ज्यान गयो

प्रदेश २ मा शीतलहरको कहर : चिसोले ४ को मृत्यु, आगो ताप्दा २ को ज्यान गयो

जनकपुर : तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएको छ । लुगलुग कमाउने ठन्डीले जनजीवन प्रभावित बनेको छ । सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ भने दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ । सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ वर्षीय बालक पनि छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी मसरुद आलम खानले सिरहामा ३ जना र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको पुष्टि गरे ।

पुस ५ गते सर्लाहीको हरिपूर्वा–४ का ५४ वर्षीय रोजाइ शेखको ठन्डीकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिरहा प्रहरीका अनुसार कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियारपट्टी–१ का ८५ वर्षीया प्रयागीदेवी साह र मिर्चैया–७ मोरहाका ८ वर्षीय बालक जाविर राइनको मृत्यु भएको छ ।

प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ । जनकपुरको मुख्य चोकहरूमा दाउरा बालेर आगो ताप्ने र न्यानो खाना उपलब्ध गराउने अभियान थालिएको छ । धनुषाको ग्रामीण क्षेत्र र विपन्न बस्तीमा शीतलहरको कहरले झन् सताएको छ । ‘ग्रामीण र विपन्न बस्तीमा तीनै तहका सरकारले न्यानो लुगा, खानेकुरा र दाउराको प्रबन्ध मिलाउनुपर्छ,’ जनकपुरका सामाजिक अभियन्ता अमरचन्द्र अनिलले भने ।

दुई महिनायता घुर ताप्ने क्रममा जलेका २ महिलाको जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार धनुषा विदेह–१ की ६५ वर्षीया रिझनी पासवान र महोत्तरीको जलेश्वर–५ की ८४ वर्षीया भुलो देवीको मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालमै उपचारका क्रममा रहेकी महोत्तरी औरही–५ श्रीपुरकी २७ वर्षीया सवयदेवी मुखियाको ढाडमुनिको भाग जल्दा अवस्था चिन्ताजनक छ । साँझपख घरमा आगो बालेर हातखुट्टा सेक्न लाग्दा उनको साडीबाट आगो सल्केको थियो । जनकपुरधाम–४ की ७५ वर्षीया सोनापरी देवीको शरीर डढेको छ । ढाडमुनिको भाग जलेर चिन्ताजनक अवस्थामा रहेकी उनको उपचार भइरहेको छ ।

प्रादेशिक अस्पताल जनकपुरको बर्नवार्डमा रहेका ६ बेड नै भरिएका छन् । आगोले जलेका अधिकांश महिला गरिब र विपन्न परिवारका हुन् । अस्पतालमा पछिल्ला २ महिनामा आगोमा जलेका २० जना महिला भर्ना भएकामा २ जनाको मृत्यु भएको छ । जनचेतना अभावले जलेको घाउमा तेल, टुथपेस्ट, बेसार र अन्य जडीबुटी लगाउनाले उपचारमा समस्या हुने गरेको डा. राजेश साहले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगोमा जलेर आर्थिक वर्ष २०७५/७६ मा ७ जना र २०७६/७७ मा ६ जनाको मृत्यु भएको छ । निरन्तरको शीतलहर र चिसोले सर्लाहीमा चार दिनदेखि घाम लागेको छैन । चिसो स्याँठ र बाक्लो कुहिरोले सडकमा चहलपहल कम छ । पुसको अन्त्यदेखि चिसो हावासँगै यहाँ शीतलहर चलेको छ । कठ्यांग्रिँदो चिसोले विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबैभन्दा बढी प्रभावित छन् । मजदुरहरू काममा जान पाएका छैनन् ।

शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने–ओछ्याउने नहुँदा उनीहरूको दैनिकी कष्टकर छ । विपन्न तथा मुसहरहरू जाडो छल्न अधिकांश समय आगो तापेर बस्न बाध्य छन् । बाँकीको समय घरमै परालले बनाएको गुन्द्री ओढेर बस्छन् । पराल र पातलो ओढ्नेको भरमा उनीहरू शीतलहर झेलिरहेका छन् । ‘जाडो छल्न जुटको बोरामा पराल हालेर सिरक तथा डसना बनाएका छौं,’ स्थानीय शान्ति माझीले भनिन्, ‘प्रत्येक जाडोमा हाम्रो परिवारको सहारा पराल राखेको सिरक र डसना नै हो ।’

पुस सुरु भएसँगै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरूले आफ्नो तयारी थालेको बताइएको थियो । तर चार दिनदेखिको शीतलहरमा स्थानीय तहको तयारी शून्य देखिएको छ । ‘हाम्रो गाउँका दुई जना प्रदेश सांसद छन्, नगरको मेयर र उपमेयर पनि हाम्रै गाउँका हुन्,’ स्थानीय रामचन्द्र रायले भने, ‘चिसो स्याँठ चल्दा पनि नेताहरूले केही व्यवस्थापन गर्न सकेका छैनन्, हामी नजिक भएकाको यो हालत छ भने दूरदराज गाउँका बासिन्दाको अवस्था झन् के होला ?’

सप्तरीको तिलाठी कोइलाडीका देवन सदाले शीतलहरसँग जसोतसो जोगिनु त आफूहरूको जीवनचक्र बनिसकेको बताए । ‘प्रकृतिको मार पनि दलित र विपन्नलाई नै पर्ने रहेछ,’ उनले भने, ‘एकातिर शीतलहरको जाडोबाट बच्न मुस्किल छ, अर्कोतिर भोक टार्ने समस्या पनि सँगै छ ।’

बिरामी बढे

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा कार्यरत अहेव रमेशकुमार यादवका अनुसार तीन दिनयताको चिसोका कारण प्रभावित भएर आउने बिरामीको संख्या बढेको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.