Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री ओली फेरि सिंगापुर जादैं

प्रधानमन्त्री ओली फेरि सिंगापुर जादैं

१ भदौ, काठमाडौं । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले बताए ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए । स्वदेश फर्किँदा विमानस्थलमा उनी सञ्चारकर्मीहरुसँग बोलेनन् । केहीबेरपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताए ।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन् ।

थप उपचारका लागि सिंगापुर जानुपूर्व आजै प्रधानमन्त्रीले संसदलाई सम्वोधन गरे । तर, संसदलाई गरेको सम्वोधनमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि जानकारी गराएनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.