Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

५ माघ, काठमाडौँ । तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

१ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् । दीपेन्द्रले दुई जीवनदान पाएका थिए । भुवन कार्कीको १० औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेख स्टम्पिङबाट चुकेका थिए ।

जुन समय दीपेन्द्र २७ रनमा क्रिजमा थिए । दीपकको १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले ३९ रनमा अर्को जीवनदान पाए । एक्स्ट्रा कभरमा अभिनाश बोहराले क्याच ड्रप गरेका थिए । तीव्र गतिका बलर किशोर महतोले पहिलो बलमै ओपनर पवन सरार्फलाई मिडअनमा सन्दीप जोराबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काएका थिए । किशोरकै तेस्रो ओभरको पाँचौं बलमा अर्का ओपनर अमित श्रेष्ठ एज लागेर विकेटकिपर आसिफ शेखबाट ३ रनमा क्याच आउट भए ।

अमरसिंह राउटेलाले अनिल शाहलाई १० रनमा क्याच गराए । दीपक बोहराको डाइरेक्ट थ्रोमा आरिफ शेख १२ रनमा रन आउट भए । विकेटकिपर दीलिप नाथ दीपकको बलमा बोल्ड आउट हुनुअघि २२ बलमा २ चौकासहित २३ रन जोडे ।

एपिएफका किशोर महतोले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेला, अभिनाश बोहरा दीपक बोहराले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रनको योगदान दिए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।

तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए । स्पिनर सागर ढकालले अन्तिम बलमा प्रदीप ऐरी ७ रनमा बोल्ड आउट गर्दा एपिएफ ४३–२ को अवस्थामा थियो ।

दीपेन्द्र सिंह ऐरीको पाँचौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बम लङअनमा अनिल शाहबाट २७ रनमा क्याच आउट भए । सागरको चौथो ओभरको चौथो बलमा लोकेशले ब्यक्तिगत २६ रनमा जीवनदान पाएका थिए ।

डिप विकेटमा गुलशन झा ले सहज क्याच ड्रप गरेका थिए । सागरको छैटौं ओभरको अन्तिम बलमा दीपक बोहरा स्लिपमा ६ रनमा आरिफ शेखबाट क्याच भएपछि एपिएफले खराब सुरुवात गरेको थियो । दीपेन्द्रको बलमा पुरन विक शून्यमा आरिफ शेखबाट क्याच भएपछि ६।२ ओभरमा एपिएफ ६२–५ को अवस्थामा पुगेको थियो ।

कप्तान शरद भेषावकरले २५ बलमा १ चौकासहित १९ रनमा आउट भए । १०४–७ को अवस्थामा पुगेको एपिएफलाई भुवन कार्की र अमरले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । भुवन २२ बलमा १ चौकासहित १७ रनमा क्याच आउट भए । किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले ३।५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्नेछन् । पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.