१० साउन, काठमाडौं ।
प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका-९ झुला घर भएका २४ वर्षीय अनिल विक्रम भन्ने अनिल वलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले प्रहरीमा जागिर लगाई दिन्छु भनि पटक/पटक गरी ३ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेकोमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ भत्केपाटीबाट पक्राउ गरिएको हो ।
उनको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व संकलन पत्र र कबाडी संकलन विवरण जनगणना २०७७ लेखिएको कागज, प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगाएतका कागजातहरु समेत बरामद भएको प्रहरीले जनाएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ।