Nepal Times
Nepal Times
3
Shares

फागुन २ देखि विराट एक्स्पो : हात्ती सवारदेखि चरा अवलोकनसम्म

फागुन २ देखि विराट एक्स्पो : हात्ती सवारदेखि चरा अवलोकनसम्म

२९ माघ, विराटनगर ।
विराटनगरमा शुक्रबारदेखि अन्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो–२०७६) हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन १० गतेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कृषिको व्यवसायीकरण, तथा पर्यटन प्रबद्र्धनको उद्देश्यका साथ सुरु गर्न लागिएको मेलाको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने आयोजकले जनाएको छ । ३ सय ४० स्टल रहने सो मेलामा नेपालका प्रतिष्ठित उद्योग व्यावसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनका साथै भारत, पाकिस्तान र बंगलादेशका उपभोग्य वस्तु तथा उत्पादन पाईने विराट एक्स्पो–२०७६ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

उनले मेलाको मुख्य आकर्षकको रुपमा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, ईलामको ललिपप, तेह्रथुम र संखुवासभाको अल्लो, अर्गेनिक, ग्रिन र अर्थोडक्स चिया लगायत हस्तकला कृषि यन्त्र, बैक तथा वित्तिय संस्थाका सेवामुलक उद्योगका स्टलहरु रहने बताए । त्यसैगरी हेलिकप्टरबाट विराटनगर अवलोकन र पाचिभरा दर्शन, हात्तीको सवारी, बालबालिकाका लागि फन पार्क, नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था, भ्रमण वर्षको प्रवद्र्धनका साथै अष्ट्रिच लगायत ६० प्रजातिका चरा पनि मेलामा राखिने जनाईएको छ । हेलिकप्टरबाट पाथिभराका लागि जम्मा ४५ हजार र विराटनगरका लागि ७ हजार रुपैँया शुल्क लाग्ने उनले बताए ।

मेलामा बेलुका ५ बजेदेखि ८ बजेसम्म विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतीका साथै सांस्कृतिक कार्यक्रम गरिने छ । हालसम्म आस्था राउत, प्रमोद खरेल, सुगम पोखरेल, इन्दिरा जोशी,एडिन प्रधान आउने पक्का भईसकेको दुलालले जानकारी दिए । प्रदेश १, प्रदेश २ र भारतको बिहारबाटसमेत दर्शकको उपस्थिती रहने सो मेलामा ३ लाख बढीले अवलोकन गर्ने र १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । मेलामा जेष्ठ नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई २५ रुपैँया प्रवेश शुल्क लिईनेछ भने अन्य लाई ५० रुपैँया लाग्ने जनाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.