Nepal Times
Nepal Times
3
Shares

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै, फेवातालमा डुंगा सयर गर्ने

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै, फेवातालमा डुंगा सयर गर्ने

२८ कात्तिक, पोखरा ।
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै छन् । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

पोखराको दृश्यावलोकन गर्न आउन लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।

राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए ।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ । जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कनुहुने प्रजिअ केसीले जानकारी गराए । रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.