२३ बैशाख, बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ ।
कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।
जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् ।
बाँकी सबै होम आइसोलेशनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुगेर गरिरहेको छ ।
हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ ।
जिल्ला अस्पतालमा कार्यरत डा।दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसियन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो ।
सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको हो ।