Nepal Times
Nepal Times
3
Shares

बाढीपहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

बाढीपहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

९ असार, काठमाडौँ ।

गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।

अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो ।

त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने, “प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।”

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए ।

उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उनले भने, “कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।”

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.