७ साउन, काठमाडौँ ।
सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि दिइदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख र्पुयाएको हो ।
मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेसँगै याे व्यवस्था लागु भएकाे हाे ।
एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ मात्रै दिइने छ । यस्तै, घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय भएको हो ।
३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।
बाढी÷पहिरो, डुबान र कटानबाट घरबार गुमाएकालाई भूकम्पपीडित सरह अनुदान दिइने पनि निर्णय भएको छ ।