३१ भदौ, काठमाडौं ।
सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने भएको छ ।
आज बसेको आकस्मिक बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको उल्लेख छ।
सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए।