Nepal Times
Nepal Times
3
Shares

बुटवलका मेयरलाई मुक्का हान्ने युवकमाथि एमालेले मुद्दा नचलाउने

बुटवलका मेयरलाई मुक्का हान्ने युवकमाथि एमालेले मुद्दा नचलाउने

५ असोज, बुटवल ।

एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो । एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

‘घटना जसरी भयो, त्यो गलत छ । तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । उनले घटना नियोजित रूपमा भएको आशंका व्यक्त गरे ।

एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ । नगर प्रमुख सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मुक्का प्रहार गरेका थिए । पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन् । ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले दुई दर्जन घरमा क्षति पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.