२४ असार , एजेन्सी ।
भारतमा विद्युतीय गाडी क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका अमेरिकी धनाढ्य, खर्बपति एलन मस्क आफ्नो त्यो प्रतिबद्धताबाट पछाडी फर्कने देखिएका छन् । उनले अब भारतमा लगानी नगर्ने संकेत गरेका छन् । टेस्ला कम्पनीका कारहरुलाई आफ्नो खरिद सूचीमा राख्दै चीनले यसलाई आफ्नो आधिकारिक सरकारी सवारीको मान्यता दिदा यता भारतमा भने मस्क ब्याक हुने संकेत देखिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो दोस्त भन्ने गरेका मस्कले यस्तो संकेत गरेका हुन् । उनको गत अप्रिल २० देखि २२ सम्मको भारत भ्रमण पनि अन्तिम समयमा आएर रोकिएको थियो । अहिले भारतीय मिडियाहरूले बताए अनुसार टेस्लाका अधिकारीहरूले भारतीय अधिकारीहरूलाई रेस्पोन्स गर्न छोडेका छन् । भारतीय अखबार इकोनोमिक टाइम्सका अनुसार अप्रिलको भ्रमण रद्द भएपछि यस्तो हुन थालेको हो ।
यसलाई धेरैले विद्युतीय गाडी क्षेत्रमा मस्कको भारतमा लगानी गर्न अनिच्छाको कोणमा बुझ्न थालेका छन् । हरेक जसो कुरामा मुखर मस्क यो कुरामा भने मौन देखिएका छन् । चीनको सांघाईमा टेस्लाको गीगा फ्याक्ट्री खोलेर मस्कले टेस्लामा चीनको बजार बढाएका थिए भने चिनियाँहरूलाई पनि विद्युतीय गाडीका सिप हस्तान्तरण गरेका थिए जसको कारण अहिले चीन विद्युतीय गाडीमा एक नम्बर उत्पादक तथा प्रयोगकर्ता भएको छ ।
भारतले पनि यस्तै चाहेको थियो । तर, मस्कले अनिश्चय देखाएपछि त्यो सम्भावना तत्कालको लागि टरेको देखिइएको छ ।