२३ जेठ, काठमाडौं ।

चौतर्फी आलोचनापछि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्याएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री महतोले आफ्नो अभिव्यक्ति बङ्ग्याएर गलत प्रचार भएको समेत दाबी गरेका छन् ।

शनिवार राति विज्ञप्ति निकालेर उनले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको र यसबारेमा कसैलाई पनि भ्रममा नराख्न आग्रह गरेका हुन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताए । यसअघि शुक्रवार पदभार ग्रहण गर्दै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने समेत बताएका थिए ।

उनको यो अभिव्यक्तिलाई लिएर विरोध भइरहेको छ । महतोको अभिव्यक्तिलाई लिएर एमालेको माधवकुमार नेपाल समूहसहित विपक्षी दल तथा विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top