Nepal Times
Nepal Times
3
Shares

मलेसियामा श्रमिककाे कार्यस्थलमा मृत्यु भए हकदारले तलब पाउने

मलेसियामा श्रमिककाे कार्यस्थलमा मृत्यु भए हकदारले तलब पाउने

८ असाेज, काठमाडौँ ।

मलेसियामा काम गर्ने विदेशी श्रमिक काम गरेकै बेला कार्य समयमै ज्यान गुमाए मृतकका परिवार वा आफन्तले आजीवन तलब पाउने भएका छन् । श्रमिकको सामाजिक सुरक्षाका लागि भएको यो व्यवस्थाअनुसार ‘ड्युटी आवर’मा श्रमिकले ज्यान गुमाए परिवारजन (आमा, बुवा, श्रीमती र २१ वर्ष नपुगेका छोराछोरी मात्र)ले मासिक तलबको ९० प्रतिशत रकम मासिक आजीवन पाउने भएका हुन् ।

मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गत स्थापना भएको एसओसीएसओले रोजगारदाताले मासिक रूपमा गर्ने योगदानमा आधारमा विदेशी श्रमिकलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको छ । मलेसियाले सन् २०२० जनवरीदेखि यो सम्पूर्ण विदेशी श्रमिकका लागि लागू हुनेगरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । मलेसियाले अगस्ट २०१९ सम्म एक लाख २५ हजार श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको जानकारी दिइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले काम गर्ने क्रममा घाइते र अङ्गभङ्ग भएमा पनि एसओसीएसओले सामाजिक सुरक्षाको व्यवस्था गरेको जानकारी दिनुभयो । कोषमा आबद्ध भएका श्रमिकको हकमा करार अवधिभित्र श्रमिक बिरामी भएमा उसको उपचारबापतको खर्च एसओसीएसओले बेहोर्ने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो । यो सुविधाका लागि रोजगारदाता कम्पनीले विदेशी श्रमिकलाई दिने गरेको मासिक तलबको १.२५ प्रतिशत एसओसीएसओमा जम्मा गर्नुपर्नेछ ।

उहाँका अनुसार दुर्घटनामा परी केही समयका लागि काम गर्न नसक्ने (टेम्पोररी डिजाबेलमेन्ट) भएमा आर्थिक सहायता (टेम्पोररी डिजाबेलमेन्ट बेनिफिट) र आजीवन काम गर्न नसक्ने भएमा आजीवन पर्मानेन्ट डिजाबेलमेन्ट बेनिफिट प्राप्त गर्ने पनि व्यवस्था छ ।

मृतकको दाहसंस्कार मलेसियामै हुनेका हकमा आफन्तले दुई हजार मलेसियन रिङ्गिटसम्म खर्च पाउने र नेपाल ल्याउनु परे छ हजार पाँच सय मलेसियन रिङ्गिटसम्म उद्धार खर्च पाउने व्यवस्था छ । सामाजिक सुरक्षाको यो व्यवस्था कार्यान्वयनको सहजीकरणका लागि एसओसीएसओले समझदारी पत्रमा हस्ताक्षर गर्न नेपाललाई प्रस्ताव गरेको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मलेसिया आफैँले प्रस्ताव गर्नु नेपाल र नेपाली श्रमिकको हितमा हुने भएकाले राम्रो भएको बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.