Nepal Times
Nepal Times
3
Shares

महिना दिनभित्रै कक्षा १२ को नतिजा उपलब्ध गराइने

महिना दिनभित्रै कक्षा १२ को नतिजा उपलब्ध गराइने

काठमाडौँ: कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।

एक साताभित्र परीक्षण
परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।

तीन सातामा बाँकी तयारी
शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ । त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ । विद्यार्थीको प्राप्ताङ्क चढाउने र परीक्षा प्रकाशनको अन्तिम तयारी गर्ने योजना बनाइएको छ । यसका लागि तीन साताभित्र सकिने अध्यक्ष पौडेल बताउनुहुन्छ ।

सङ्क्रमितलाई परीक्षाको अवसर
यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।

कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।

शैक्षिक सत्र क्षति नहुने
कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीले एक महिनाभित्र नतिजा हात पारेपछि शैक्षिक सत्रमा कुनै क्षति नहुने विश्वास बोर्डका अध्यक्ष पौडेलले व्यक्त गर्नुभयो । शैक्षिक सत्र मिलाउने विषयमा पछिल्लोपटक विश्वविद्यालयहरूसित छलफल नभए पनि यस विषयमा आवश्यक समन्वय गरिदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको जनाइएको छ ।

परीक्षामा नयाँ प्रयोग
कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी अधिकारीहरूले दिएका छन् । मङ्सिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मङ्गलबार सकिएको हो । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी भौतिक रूपमै परीक्षामा सहभागी भई परीक्षा सफलतापूर्वक सम्पन्नभयो । यसपटक बोर्डले परीक्षा सुरु हुनुभन्दा आधा घण्टा पहिले मात्रै सम्बद्ध परीक्षा केन्द्रमा प्रश्न पत्र पठाउने प्रावधान यस पटकबाट सुरु गरेको छ । परीक्षामा यस खालको अभ्यास पहिलो पटक गरिएको हो । विद्यार्थीले यस पटक डेढ घण्टा मात्रै परीक्षामा सहभागी भए ।

यसपटक देशभर गरी चार हजार १०५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस पटकको कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.