Nepal Times
Nepal Times
3
Shares

महिला उद्यमीहरुका लागि के गर्दैछन् राज्यमन्त्री मोती दुगड ?

महिला उद्यमीहरुका लागि के गर्दैछन् राज्यमन्त्री मोती दुगड ?

१० माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

‘नेपाली उत्पादनहरुको विक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन् । उनले आफु उद्यमी समेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताए ।

त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको उनले बताए । उनले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे । उनले महिला उद्यमीहरुका लागि छुट्टै व्यवस्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताए । उनले उद्यमी व्यवसायीहरुले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुर्नकर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र पाँच दश वर्षमा डबलमा विक्री गर्ने प्रवृतिले पनि देश समृद्ध हुन नसकेको बताए ।

डेपुटी गभर्नर शिवाकोटीले उद्यमशिलता विकासमा महिलाहरुको योगदान बढी होस भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिए । उनले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएकाले त्यसको फाइदा लिन आग्रह गरे । उनले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताए । उनले महासंघले महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताए ।

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझबढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो । त्यस्तै बैंकहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरुले जोड दिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.