Nepal Times
Nepal Times
3
Shares

मुकेश चाैरासियाको हत्यामा संलग्न २ जना पूर्पक्षका लागि जेल चलान

मुकेश चाैरासियाको हत्यामा संलग्न २ जना पूर्पक्षका लागि जेल चलान

१९ मंसिर, वीरगन्ज ।

पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । पार्टीेको सपथ ग्रहण कार्यक्रममा नै भएको झडपमा गम्भिर घाइते चौरसियाको हत्यामा संलग्न देखिएका २ अभियुक्त बुधबार पूर्पक्षका लागि जेल चलान भएका हुन् । २ जनालाई भने जनही २÷२ लाख नगद धरौटीमा छोडिएको छ । पर्सा जिल्ला अदालतका अनुसार अर्का १७ बर्षीय एक बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा संलग्न नभएको भन्दै सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको छ ।

विन्दवासीनीका स्थानीय अश्वेस्वर भन्ने अखलेश चौरसिया र उत्तम भन्ने निरन्जन तिवारी भने पर्सा जिल्ला अदालतको थुनछेक बहस पछिको आदेशबाट पूर्पक्षका लागि जेल गएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले बताए । त्यसै गरी हनिफ मिया जोलाहा र देवा सहनी मलाहालाई भने जनही दुई–दुई लाख धरौटी लिएर छोडिएको उनको भनाइ छ ।

पर्सा जिल्ला अदालतका जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको इजलासमा बुधबार सकिएको थुनछेक बहस पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम चौरसिया र तिवारीलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश भयो । जोलहा र मलाहालाई पनि सोही संहिताको दफा ६८ बमोजिम धरौटीमा छाडिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले बताए । मिसिलमा पेश भएका कुल २१ प्रतिवादी मध्ये अन्य भने अहिलेसम्म अदालतमा उपस्थित नभएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

पर्साको विन्दवासीनी गाउँपालिकामा गएको कार्तिक ६ गते नेकपाको गाउँ कमिटिको सपथग्रहण कार्यक्रममा पार्टीकै कार्यकर्ताहरुका बीचमा झडप हुँदा गाउँ कमिटिका सचिव मुकेश चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा कार्तिक ७ गते निधन भएको थियो । सो घटनामा संलग्न भएको आशंकामा घटना स्थलमा भएका र योजनाकारका रुपमा रहेका भनी पीडित पक्षले सुरुमा १२ जना र पछि १५ जना गरी २७ जना नेकपाका नेता कार्यकर्ता माथि पर्सा प्रहरीमा जाहेरी दर्ता गराएको थियो ।

जाहेरीमा मुख्य योजनाकारका रुपमा बाहिर हल्ला भए अनुसार संलग्न नभएको पाइएपछि संविधान सभाका सांसद राजकुमार गुप्ता प्रहरीको अनुसन्धानको दाएरामा नपरेको प्रहरीको मिसिलले पहिले नै प्रष्ट्याएसकेको छ । त्यसै गरी नेकपाको २ नम्बर प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, केन्द्रिय सदस्य रामचन्द्र साह लगायतका ६ जना नेता कार्यकर्ता भने संलग्न नभएको प्रहरी अनुसन्धानले देखाएको छ । पर्सा जिल्ला अदालतका अनुसार घटनामा संलग्न देखिएका २१ जना अभियुक्तहरुलाई भने पर्सा प्रहरीले मिसिलमा उल्लेख गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.