Nepal Times
Nepal Times
3
Shares

रसुवागढी नाकाबाट २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवागढी नाकाबाट २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात

२ साउन, रसुवा ।

आर्थिक वर्ष २०७७÷७८ मा रसुवागढी नाका हुँदै दुई सय सात टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि असार मसान्तसम्म दुई सय सात टन खाद्य सामग्री आयात भएको हो ।

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

तथ्यांक अनुसार फूल तथा सागपात ४४ दशमलव ४ टन, खाद्यान्न दलहन तथा अन्य ७५ दशमलव ३ टन, मसलाजन्य ३ दशमलव ४ टन, दुधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १४ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ६१ दशमलव ३ टन आयात भएको हो ।

नाकाबाट सामग्रीको आयात विस्तारै बढ्दै जाँदा खाद्य सामग्रीको आयात केही बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए । ‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उनले भने, ‘नाकामा आयात सहज नहुँदा सामग्री धेरै आएको छैन ।’

आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असार मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, अनुसन्धान अधिकृत देउजाले बताए, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’

कार्यालयले गएको साउनदेखि असार मसान्तसम्म २ सय ३ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १०, जेठमा २१ र असारमा ९ वटा सामग्रीको नमुना परीक्षण गरिएको छ ।

गएको आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । २०७६ माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो ।

त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना आएको थिएन । खाद्य सामग्रीको लेबलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गएको आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.