Nepal Times
Nepal Times
3
Shares

रसुवागढी नाका आजबाट पुनः सञ्चालनमा

रसुवागढी नाका आजबाट पुनः सञ्चालनमा

२२ असार, रसुवा । ६ महिनादेखि ठप्प रसुवागढी नाका सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कोभिड–१९ का कारण माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प थियो ।

त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । नाका सोमबार बिहान सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

उताबाट आएका सामान यता १० देखि १२ कन्टेनरमा राखिनेछन् । चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको र तिनलाई मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गर्ने काम भइरहेको खड्काले बताए ।

उनका अनुसार चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउनेछ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पु¥याउने काम गर्छन् । भन्सार यार्डबाटै सामानको जाँचपास हुने रसुवा भन्सार कार्यालयले जनाएको छ । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ ।

सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए ।

यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.