Nepal Times
Nepal Times
3
Shares

राजकुमार चेपाङको मृत्यु प्रकरणः आरोपी सैनिकको पोलिग्राफ परीक्षण गर्ने तयारी

राजकुमार चेपाङको मृत्यु प्रकरणः आरोपी सैनिकको पोलिग्राफ परीक्षण गर्ने तयारी

१४ असोज, चितवन । कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरू गरेको छ ।

राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत् चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ ।

उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतक राजकुमारका बुवा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका हुन् ।

आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षण समेत गर्ने तयारी प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए ।

सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।

राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि समेतलाई कुटपिट भएको थियो।

छुटेर आएदेखि बिरामी भएका राजकुमारको स्थानीय मेडिकलमा उपचार गराइरहेका थिए। मेडिकलको उपचारले निको नभएपछि भरतपुर अस्पताल ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको थियो। (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.